
दाङ । दाङको गढवा गाउँपालिकाका ४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित सञ्चालित बड्कापथ सिँचाइ आयोजनाको निर्माण कार्य ७० प्रतिशत पूरा भएको छ । आयोजना सम्पन्न भएपछि करिब ७ हजार परिवारका ४५ हजार जनसङ्ख्या लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत सञ्चालित बड्कापथ सिँचाइ आयोजनाले हालसम्म ६१० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याइसकेको छ । सिँचाइ सुविधा उपलब्ध भएपछि उक्त क्षेत्रमा रोपाइँसमेत गरिएको छ ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार राप्ती नदीमा साइड इन्टेक संरचना, १७ किलोमिटर मूल नहर तथा ५४ ओटा साना-ठूला नहर संरचना निर्माण भएका छन् । यसैगरी २.३७६ किलोमिटर शाखा नहर र १४.५६९ किलोमिटर नहर लाइनिङको काम सम्पन्न भएको छ । आयोजनाको चेनेज १५ हजार ९९० सम्मको निर्माण कार्य पूरा भएको उनले जानकारी दिए ।
आयोजनाअन्तर्गत ९.५४५ किलोमिटर तटबन्ध निर्माण गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ३० किलोमिटर मूल नहर, १३ ओटा शाखा नहर र ५३ ओटा प्रशाखा नहर निर्माण गर्ने लक्ष्य राखिएको छ ।
बड्कापथ सिँचाइ आयोजनाको कुल लागत ५ अर्ब ७० करोड ४० लाख रुपैयाँ अनुमान गरिएको छ । कार्यालयका लेखा अधिकृत नवराज वलीका अनुसार हालसम्म २ अर्ब ८० करोड ८१ लाख रुपैयाँ बराबरको वित्तीय प्रगति भएको छ ।
आर्थिक वर्ष २०६८/६९ देखि निर्माण सुरू भएको आयोजनाको गत आर्थिक वर्ष २०८२/८३ मा वार्षिक लक्ष्यको तुलनामा भौतिक प्रगति शतप्रतिशत र वित्तीय प्रगति ९९.८८ प्रतिशत पुगेको थियो ।
आगामी वर्षका लागि चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्मको नहर तथा संरचना निर्माण गर्न ठेक्का सम्झौता भई काम अघि बढेको छ । उक्त खण्डमा हालसम्म २० प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै चेनेज २२ हजार २०० देखि ३० हजारसम्मको निर्माण प्रक्रिया पनि अघि बढाइएको छ ।
२८ ओटा ठेक्काको काम सम्पन्न
आयोजना कार्यालयका अनुसार आर्थिक वर्ष २०६८/६९ मा इन्टेक निर्माणको पहिलो ठेक्का सम्झौता भएयता मुख्य निर्माण, मर्मत तथा बचावटसम्बन्धी कुल ३१ ओटा ठेक्का सम्झौता भएका छन् । तीमध्ये २८ ओटा ठेक्काको काम सम्पन्न भइसकेको छ ।
हाल दुई ओटा ठेक्काको काम निर्माणाधीन अवस्थामा छ । मूल नहरको चेनेज १४ हजार ४५० देखि २२ हजार २०० सम्म नहर तथा संरचना निर्माण गर्ने ठेक्कामा २० प्रतिशत भौतिक प्रगति भएको सूचना अधिकारी वलीले बताए ।
त्यस्तै गढवास्थित सब-डिभिजन कार्यालय भवन निर्माणको काममा २६ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि गढवा गाउँपालिकाको ठूलो कृषि क्षेत्र सिँचाइको पहुँचमा आउने र कृषि उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







