Nepal Purbadhar

नेपालको सडक पूर्वाधारमा स्लोप स्टेबलाइजेसन: चुनौती, आवश्यकता र दिगो समाधान


नेपालमा सडक पूर्वाधारको विस्तार पछिल्ला दुई दशकमा उल्लेखनीय रूपमा बढेको छ। सडक सञ्जाल विस्तारलाई आर्थिक विकास, सामाजिक रूपान्तरण र दुर्गम क्षेत्रलाई राष्ट्रिय मूलधारसँग जोड्ने प्रमुख माध्यमका रूपमा लिइएको छ । संघीय सरकारले २०७६ सालमा देशभरका ८० वटा राष्ट्रिय राजमार्ग घोषणा गरी वर्गीकरण गरेसँगै रणनीतिक सडक सञ्जालको विकासले थप गति लिएको छ। यी राजमार्गबाहेक सडक विभाग तथा अन्य सरकारी निकायमार्फत हजारौं किलोमिटर सडक निर्माण, स्तरोन्नति र मर्मतका काम भइरहेका छन्।

तर सडक निर्माणको गति बढेसँगै अर्को गम्भीर चुनौती पनि देखिएको छ-सडकको ढलान (Slope) स्थिर राख्ने अर्थात् स्लोप स्टेबलाइजेसन । नेपालको भौगोलिक बनोट, कमजोर भूगर्भीय संरचना, जलवायुजन्य जोखिम र मानव गतिविधिका कारण हरेक वर्ष सयौं स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुने, यातायात सेवा ठप्प हुने, आर्थिक क्षति हुने र मानवीय जोखिम बढ्ने गरेको छ। त्यसैले सडक निर्माण मात्र पर्याप्त हुँदैन; त्यसलाई सुरक्षित, दिगो र वर्षैभर सञ्चालनयोग्य बनाउन स्लोप स्टेबलाइजेसन अपरिहार्य बनेको छ ।

नेपालको भूगोल किन जोखिमयुक्त छ?
नेपाल विश्वका सबैभन्दा जटिल भूगर्भीय संरचना भएका मुलुकमध्ये एक हो। दक्षिणतर्फको भारतीय (Indian) प्लेट र उत्तरतर्फको तिब्बती (Tibetan) प्लेटबीच लाखौं वर्षदेखि भइरहेको निरन्तर घर्षण र गतिका कारण हिमालयको निर्माण भएको हो। यही प्रक्रियाका कारण नेपालको भूभाग अझै पनि सक्रिय अवस्थामा रहेको मानिन्छ।

महाभारत र चुरे क्षेत्रलाई भूगर्भीय दृष्टिले अपेक्षाकृत कान्छो पर्वतीय संरचना मानिन्छ। यी क्षेत्रमा चट्टानहरू पूर्ण रूपमा सुदृढ भइसकेका छैनन्। कमजोर शैल संरचना, भिरालो भूभाग, अत्यधिक वर्षा र टो कटानका कारण यहाँ पहिरोको जोखिम अत्यधिक हुन्छ। यही कारण नेपालका धेरै राष्ट्रिय राजमार्ग र ग्रामीण सडकहरू वर्षेनी पहिरोबाट प्रभावित हुने गरेका छन्।

जलवायु परिवर्तनले पनि यो जोखिम थप बढाएको छ। छोटो अवधिमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढ्दै जाँदा पहिरो, भूक्षय र सडक भत्किने घटनामा वृद्धि भएको देखिन्छ। त्यसैले अहिले सडक निर्माणमा भूगर्भीय अध्ययन, जलनिकास व्यवस्थापन र ढलान स्थायित्वलाई प्रारम्भिक चरणदेखि नै समावेश गर्नुपर्ने आवश्यकता बढेको छ।

सडक निर्माणका चुनौतीपूर्ण क्षेत्र
नेपालका अधिकांश रणनीतिक सडकहरू पूर्व–पश्चिम तथा उत्तर–दक्षिण करिडोरको अवधारणाअनुसार निर्माण भएका छन्। यी सडकहरूले दुर्गम क्षेत्रलाई जोड्ने महत्वपूर्ण भूमिका खेले पनि धेरै खण्ड उच्च जोखिमयुक्त भूभाग भएर गुज्रिएका छन्।
महेन्द्र राजमार्गअन्तर्गत चुरे क्षेत्रका दाउन्ने र धानखोला, मध्यपहाडी लोकमार्गका अक्करेभीर, सिन्धुलीको कुडुले, बागलुङको बोक्सेभीर तथा निसी खोला, कास्कीका ढावा पहिरो र भैँसे पहिरो वर्षेनी समस्या दोहोरिने क्षेत्र हुन्।

त्यसैगरी हुलाकी राजमार्गका शिवालिक तथा चुरे क्षेत्र, मदन भण्डारी राजमार्गका चुरे क्षेत्र, बीपी राजमार्गका चौकीडाँडा, नेपालथोक तथा रोशी खोलाको किनार, कोशी करिडोरको भेडेटार–हिले–लेगुवा–खाँदबारी खण्ड, कालीगण्डकी करिडोरको बेनी–जोमसोमस्थित काभ्रेभीर, कर्णाली करिडोर, मेची राजमार्गको माइपोखरी–राँके–फिदिम खण्ड, अरनिको राजमार्गका कोठे, डाक्लाङ र कोदारी, त्रिभुवन राजपथको झ्याप्लेखोला–भीमफेदी–दामन, पृथ्वी राजमार्गको कृष्णभीर, जोगिमारा र आबुखैरेनी क्षेत्र, सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड, बेँसीशहर–चामे सडकको उदीपुर, गल्छी–त्रिशूली–रसुवागढी सडकका देवीघाट, मैलुङ र स्याफ्रुबेँसी, लामोसाँघु–जिरी सडक, अरुण करिडोर, कान्ति राजपथ, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, शहीद मार्ग तथा महाकाली राजमार्गका विभिन्न खण्डहरू पनि पहिरोको उच्च जोखिममा रहेका छन्।
यी स्थानहरूमा सडक सञ्चालन वर्षायाममा विशेष रूपमा प्रभावित हुने गरेको छ। कतिपय अवस्थामा सडक अवरुद्ध हुँदा खाद्यान्न, इन्धन, औषधि र दैनिक उपभोग्य वस्तुको आपूर्तिसमेत प्रभावित हुने गरेको छ।

पहिरो किन जान्छ?
सडक क्षेत्रमा पहिरो आउने कारणलाई मुख्यतः प्राकृतिक र मानवीय गरी दुई समूहमा विभाजन गर्न सकिन्छ।
प्राकृतिक कारणमा भूकम्प, अत्यधिक वर्षा, नदी कटान तथा प्राकृतिक क्षयीकरण प्रमुख हुन्। वर्षाको पानी माटोभित्र प्रवेश गरी चट्टान र माटोबीचको बन्धन कमजोर बनाउँदा ढलान अस्थिर हुन्छ। नदीले तलबाट कटान गर्दा पनि भिरको सन्तुलन बिग्रिएर पहिरो जान सक्छ।

मानवीय कारणहरू पनि कम जिम्मेवार छैनन्। सडक निर्माणका क्रममा वैज्ञानिक अध्ययनबिनाको कटिङ, ढलानको उचित संरक्षण नगर्नु, वर्षाको पानीको निकास व्यवस्थित नगर्नु, सडक छेउमा उत्खनन गरिएको माटो जथाभावी थुपार्नु तथा वन विनाश वा रुख कटानले ढलानलाई थप कमजोर बनाउँछ। कतिपय अवस्थामा निर्माण सम्पन्न भएपछि नियमित मर्मतसम्भारको अभावले पनि समस्या झन् जटिल बन्छ।

पहिरोका प्रकार
नेपालका सडक क्षेत्रमा मुख्यतः सतह चिप्लिएर खस्ने (Surface Slide), भूक्षय (Erosion) तथा सतह बगाउने (Surface Wash) प्रकृतिका पहिरो देखिन्छन्। तीमध्ये सतही पहिरो सबैभन्दा बढी हुने समस्या हो। समयमै नियन्त्रण नगरिए यस्ता पहिरो क्रमशः गहिरो हुँदै ठूलो क्षतिको कारण बन्न सक्छन्।

स्लोप स्टेबलाइजेसनका प्रभावकारी उपाय
सडकको ढलानलाई सुरक्षित बनाउन विभिन्न प्रविधि प्रयोग गरिन्छ। कुन प्रविधि अपनाउने भन्ने कुरा भूगर्भीय अवस्था, ढलानको प्रकृति र जोखिमको स्तरमा निर्भर हुन्छ।
१. बायो–इन्जिनियरिङ
वनस्पति र सिभिल इन्जिनियरिङ संरचनाको संयुक्त प्रयोगलाई बायो–इन्जिनियरिङ भनिन्छ। सतही पहिरो रोक्न यो कम लागतको, वातावरणमैत्री र प्रभावकारी उपाय हो। यसअन्तर्गत विभिन्न जातका घाँस, झाडी तथा रुख रोप्ने, जैविक आवरण तयार गर्ने र माटोलाई जकडेर राख्ने प्रविधि अपनाइन्छ। यसले वर्षाको पानीको बहाव कम गर्नुका साथै भूक्षय नियन्त्रणमा सहयोग पुर्‍याउँछ।
२. सतही तथा भित्री पानी व्यवस्थापन
सडक ढलानको सबैभन्दा ठूलो शत्रु अनियन्त्रित पानी हो। त्यसैले प्रभावकारी जलनिकास प्रणाली निर्माण गर्नु अत्यन्त आवश्यक हुन्छ। क्याच ड्रेन (Catch Drain), फ्रेन्च ड्रेन (French Drain) तथा अन्य सतही र भूमिगत ड्रेनेज प्रणालीमार्फत वर्षाको पानी सुरक्षित रूपमा बाहिर निकास गरिन्छ। राम्रो ड्रेनेज व्यवस्थापनले पहिरोको सम्भावना उल्लेखनीय रूपमा घटाउँछ।
३. सिभिल इन्जिनियरिङ संरचना
जोखिमयुक्त क्षेत्रमा रिटेनिङ वाल (Retaining Wall), प्रिकास्ट वाल (Precast Wall), ग्याबियन संरचना तथा क्यास्केड (Cascade) निर्माण गरेर माटो र चट्टानलाई स्थिर बनाइन्छ। यस्ता संरचनाले ढलानमा पर्ने दबाबलाई नियन्त्रण गरी सडकको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न मद्दत गर्छन्।
४. आधुनिक तथा जटिल प्रविधि
अत्यधिक जोखिम भएका क्षेत्रमा सोइल नेल (Soil Nail), सोइल एङ्कर (Soil Anchor), रक एङ्कर वा रक बोल्ट (Rock Anchor/Bolt) तथा एमएसई वाल (MSE Wall) जस्ता आधुनिक प्रविधि प्रयोग गरिन्छ। यस्ता संरचनाले कमजोर चट्टान र ढलानलाई मजबुत बनाउँदै दीर्घकालीन स्थायित्व प्रदान गर्छन्। यद्यपि यी प्रविधि अपेक्षाकृत महँगा भए पनि उच्च जोखिमयुक्त क्षेत्रमा अत्यन्त प्रभावकारी मानिन्छन्।

दिगो सडक निर्माणतर्फ
नेपालमा सडक निर्माण गर्दा केवल ट्र्याक खोल्ने वा कालोपत्रे गर्ने दृष्टिकोणबाट माथि उठ्न आवश्यक छ। सडकको सम्पूर्ण जीवनचक्रलाई ध्यानमा राखेर डिजाइन, भूगर्भीय अध्ययन, वातावरणीय मूल्यांकन, जलनिकास, ढलान संरक्षण तथा नियमित मर्मतसम्भारलाई एउटै प्रणालीको रूपमा हेर्नुपर्छ। निर्माणपछि नियमित अनुगमन, जोखिमयुक्त स्थानको पहिचान र समयमै मर्मत गर्न सके ठूलो क्षति रोक्न सकिन्छ।

निष्कर्ष
सडक पूर्वाधार आर्थिक विकासको मेरुदण्ड हो। तर नेपालको जटिल भूगोलमा सडकलाई सुरक्षित र दिगो बनाउने प्रमुख आधार स्लोप स्टेबलाइजेसन हो। जलवायु परिवर्तन, तीव्र वर्षा र भूगर्भीय संवेदनशीलताका कारण भविष्यमा जोखिम अझ बढ्न सक्ने भएकाले वैज्ञानिक योजना, आधुनिक प्रविधि, प्रभावकारी जलनिकास, बायो–इन्जिनियरिङ तथा नियमित मर्मतसम्भारलाई सडक निर्माणको अभिन्न अंग बनाउनु आवश्यक छ। सडक निर्माणसँगै ढलानको स्थायित्व सुनिश्चित गर्न सकिए मात्र नेपालले सुरक्षित, भरपर्दो र दिगो सडक सञ्जाल निर्माण गर्ने लक्ष्य हासिल गर्न सक्छ।
(लेखक नारायणदत्त भण्डारी पूर्वाधार विकास मन्त्रालयका उपसचिव तथा सडक डिभिजन कार्यालय, चरिकोटका प्रमुख हुन्।)


Read Previous

एनपिएलका सबै खेलमा डीआरएस लागू हुने, खेल समय पनि फेरियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar