
काठमाडौं । कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलसतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
आज कात्तिक १४ गते दिउँसो १२ बजेको रेकर्डअनुसार जलाशयको सतह १ हजार ५२८.१५ मिटर पुगेको छ । पानीको बहावका आधारमा आज साँझ ४ बजेसम्म जलसतह १ हजार ५२९ मिटर पुग्न सक्ने अनुमान गरिएको छ ।

जलसतह १ हजार ५२८.५ मिटर पुगेपछि पूर्वसतर्कताका लागि पहिलो साइरन बजाउने र एसएमएस अलर्ट पठाउने तयारी गरिएको छ ।
मौसममा क्रमिक सुधार भइरहेको भए पनि जलाधार क्षेत्रमा अप्रत्याशित रूपमा भारी वर्षा भएमा बाँधको सुरक्षाका लागि मुख्य ढोका (स्पिलवे गेट) खोल्नुपर्ने अवस्था आउन सक्ने जनाइएको छ ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै सिस्नेरी खोला तथा बागमती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी आज राति नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र स्थानीय प्रशासन एवं सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ ।
जलाशयका गेट खोल्नुपर्ने अवस्था आएमा निर्धारित प्रक्रियाअनुसार दोस्रो र तेस्रो चरणका आपतकालीन साइरन बजाउनुका साथै एसएमएस अलर्टसमेत पठाइने जनाइएको छ ।
यसका लागि केन्द्रको प्राविधिक टोली कात्तिक १३ गतेदेखि नै फिल्ड तथा कन्ट्रोल रुममा पूर्ण तयारीसहित परिचालन गरिएको छ ।
सम्भावित जोखिमबाट बच्न तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र उक्त सूचना अन्य नागरिकसम्म पनि पुर्याउन आग्रह गरिएको छ ।


