
फाइल तस्विर।
बाजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा भारी हिमपातपछि दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् ।
बडीमालिका माताको दर्शन तथा भ्रमणका लागि पुगेका कञ्चनपुरका २० वर्षीय मनिष बोहरा र २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिका-दैजीका बोहरा र कृष्णपुर नगरपालिका-२ का कार्की सम्पर्कविहीन भएका हुन् ।
कात्तिक ९ गते बाजुराको सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका प्रस्थान गरेको थियो । टोलीका तीन जना बडीमालिका पुगेर फर्किसकेका छन् भने बाँकी दुई जना सम्पर्कविहीन भएका हुन् ।
४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष बोहरा हराएका थिए । त्यसपछि सागर कार्कीसँग पनि गए रातिदेखि सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक शाहीका अनुसार सागरले यसअघि फोन सम्पर्क हुँदा फर्कने क्रममा साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी दिएका थिए । लगातारको वर्षा र भारी हिमपातका कारण मनिष हराएको तथा सागर पनि हिउँमा फसेर अलपत्र परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
दुवै जनाको मोबाइल फोन बन्द रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि मार्तडीबाट प्रहरी टोली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
शुक्रबारदेखि जिल्लामा भइरहेको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । प्रतिकूल मौसम र बाक्लो हिउँका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको प्रहरीले जनाएको छ ।

