
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेको सोधपुछ, धरपकड र पक्राउका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
रास्वपाले यस विषयमा सरकारसँग स्पष्ट जवाफ माग्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको छ ।
रास्वपाका तर्फबाट सार्वजनिक धारणा राख्दै पार्टीका नेता जगदीश खरेलले समाचारकै विषयलाई लिएर कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्ने स्पष्ट पारेका छन् ।
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भएको उल्लेख गर्दै त्यसप्रति पार्टीको सम्मान र जिम्मेवारी रहेको बताएका छन् ।
न्याय खोज्ने अन्य धेरै कानुनी बाटा खुला रहेको भन्दै रास्वपाले पत्रकारमाथि धरपकड र पक्राउ गर्नेभन्दा कानुनी प्रक्रियाको अवलम्बन गर्न सरकारलाई आग्रह गरेको छ ।

