
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै एनपिएल २०२६ का सबै खेलमा उक्त प्रविधि लागू गरिने जनाएको हो।
डीआरएसको प्रयोगसँगै मैदानमा अम्पायरले गरेको निर्णयप्रति असहमति भएमा टोलीले त्यसलाई चुनौती दिन पाउनेछन्। यस व्यवस्थाले खेलका क्रममा भएका निर्णयको पुनरावलोकन गर्न र अम्पायरका निर्णयलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, डीआरएस लागू गर्ने व्यवस्थासँगै प्रतियोगिताको खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ।
संशोधित तालिकाअनुसार दैनिक २ ओटा खेल हुने दिन पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरू हुनेछ। एक खेल मात्र हुने दिन भने खेल साँझ ५ बजे सुरू हुनेछ।
एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुँदैछ। प्रतियोगितामा डीआरएसको प्रयोग र संशोधित खेल तालिकाले खेल सञ्चालनलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

