
धनुषा । जनकपुरधाम-ढल्केवर ६ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई ओटा आकाशे पुलको काम सम्पन्न भएको छ । पुलमा अहिले रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको छ । चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
मधेस प्रदेशमै पहिलो पटक निर्माण गरिएका यी आकाशे पुलले व्यस्त सडकमा पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामका अनुसार पैदल यात्रुको चाप बढी हुने स्थानलाई लक्षित गरी पुल निर्माण गरिएको हो ।
महिला विकास चोक र सखुवा चोकमा २ ओटा तथा लक्ष्मीनिया गाउँपालिकामा १ ओटा गरी कुल ३ ओटा आकाशे पुल निर्माण गर्न करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भइसकेका छन् ।
सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि ३ करोड ३५ लाख, सखुवा चोकको पुलका लागि ३ करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि ३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो । पुल निर्माणको जिम्मेवारी दुई ओटा निर्माण कम्पनीले पाएका छन् ।
सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुल ५.६ मिटर अग्लो, २९.४ मिटर लामो र ३ मिटर चौडा छन् । पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने बाध्यता अन्त्य हुने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम कम हुने बताए । पूर्व-पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनले जानकारी दिए ।
स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्न निकै जोखिम हुने गरेको बताए । क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका यादवले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।







