Nepal Purbadhar

ग्लोबल आइएमई बैंकले काठमाडौँको उत्तरढोकामा १२ तले अत्याधुनिक कर्पोरेट भवन बनाउँदै


काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरू गरेको छ। करिब १ लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुने १२ तले भवनको शुक्रबार भूमिपूजा गरी निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको हो।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले निर्माणस्थलमा आयोजित समारोहमा भूमिपूजा गरेका थिए।

भवनमा गाडी पार्किङका लागि २ तला भूमिगत बेसमेन्ट, एउटा ग्राउन्ड फ्लोर र माथि ९ ओटा तला रहनेछन्। वातावरणमैत्री पूर्वाधार, आधुनिक वास्तुकला र अत्याधुनिक प्रविधि समेटेर भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ।

भूमिपूजापछि अध्यक्ष ढकालले नयाँ भवन वाणिज्य बैंकका कर्पोरेट कार्यालयमध्ये सबैभन्दा आधुनिक र ठूलो संरचनामध्ये एक हुने बताए। उनका अनुसार भवन निर्माण सम्पन्न भएपछि सेवाग्राहीले बैंकिङ सेवा अझ सहज, प्रविधिमैत्री र प्रभावकारी रूपमा प्राप्त गर्न सक्नेछन्।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले सेवाग्राही र कर्मचारीको सुविधालाई ध्यानमा राखेर भवनको डिजाइन तथा संरचना तयार गरिएको बताए। भवनमा ऊर्जा बचत गर्ने प्रविधि, आकाशे पानी सङ्कलन तथा प्रशोधन प्रणाली र विद्युत् खपत घटाउन सौर्य ऊर्जा जडान गरिने उनले जानकारी दिए।

प्राकृतिक स्रोतको उचित उपयोग र वातावरणीय सन्तुलनलाई प्राथमिकता दिँदै भवन निर्माण गर्न लागिएको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलसहित उच्च व्यवस्थापन समूह तथा कर्मचारीको उपस्थिति थियो।


Read Previous

जनमतले दम्भ बढाएको भन्दै रास्वपाभित्रै आत्मसमीक्षा गर्न सभापति लामिछानेको आग्रह

Read Next

पोखरा र चितवन भिड्दै, मल्ल र मोस्ली ११ मा पर्दा खनाल र टम बेन्चमा, ब्याटिङ गर्दै एभेन्जर्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar