
काठमाडौं। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले आफूलाई पुनः आईजीपीकै पदमा बहाल गराउन र मन्त्रिपरिषद्को निर्णय खारेज गर्न माग गरेका छन्।
सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। त्यसपछि रिक्त आईजीपी पदमा डा. मनोजकुमार केसी नियुक्त भएका थिए।
कार्कीले आफ्नो पदावधि कायम रहेकै अवस्थामा कुनै स्पष्टीकरण नसोधी र कानुनी प्रक्रिया पूरा नगरी अर्को जिम्मेवारीमा खटाउनु पदबाट हटाएसरह भएको जिकिर गरेका छन्।
उनले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म आफूलाई पुरानै पदमा फर्काउन अन्तरिम आदेश जारी गर्नसमेत माग गरेका छन्।
कार्कीले बिहीबार वकिलमार्फत दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र नवनियुक्त आईजीपी केसीलाई विपक्षी बनाएका छन्। सर्वोच्च अदालतले रिटको प्रारम्भिक सुनुवाइका लागि कात्तिक ३० गतेको पेशी तोकेको छ।

