
काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन प्रभावित भए पनि विद्युत निर्यातबाट हुने आम्दानी बढेको हो।
गत आर्थिक वर्षको असोजको तुलनामा यस वर्ष विद्युत निर्यातबाट प्राप्त रकम ९६ करोड २० लाख रुपैयाँले बढेको छ। त्यस्तै, चालु आवको भदौको तुलनामा असोजमा निर्यात कारोबार ८३ करोड २५ लाख रुपैयाँले वृद्धि भएको छ।
नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कअनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात गरिएको छ। उक्त विद्युत द्विपक्षीय बिक्री सम्झौताअन्तर्गत भारतको हरियाणा र बिहार राज्यमा तथा भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड र रियल टाइम बजारमा बिक्री गरिएको हो।
गत वर्षको असोजमा भारततर्फ ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको विद्युत निर्यात भएको थियो। चालु आवको भदौमा भने यस्तो कारोबार ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोजमा निर्यात कारोबार बढेको बताए। उनका अनुसार असोजमा भारततर्फ निर्यात गरिएको कुल विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो।
बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात पुनः सुरू
नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात कात्तिक ६ गते शुक्रबार साँझदेखि पुनः सुरू भएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि विद्युत निर्यात रोकिएको थियो। यसबाट भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यातसमेत आंशिक रूपमा प्रभावित भएको थियो।
भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रमा उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरू गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताए।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुँदै आएको छ।
बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरू हुनु नेपालको विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको श्रेष्ठले बताए। यसले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्युत निर्यात क्षमता १ हजार १७९ मेगावाट
यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ।
नेपालले आन्तरिक माग पूरा गरी बचत भएको वर्षायामको विद्युत भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ। विद्युत निर्यातबाट विदेशी मुद्रा आर्जन हुनुका साथै वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको उपयोग र क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा समेत सहयोग पुग्दै आएको छ।

