
काठमाडौं। टिकटकलाई मनोरञ्जनमा मात्र सीमित नराखी उद्यमशीलता, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन र आर्थिक विकासको माध्यमका रूपमा उपयोग गर्ने विषयमा नेपाल सरकार र टिकटकबीच छलफल भएको छ।
सूचना तथा सञ्चार मन्त्रालयमा शुक्रबार भएको छलफलमा डिजिटल रूपान्तरण, सामाजिक सञ्जालको आर्थिक उपयोग, डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोगका विषयमा कुराकानी भएको हो।
छलफलमा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालको लाभ ग्रामीण क्षेत्रका नागरिक, साना उद्यमी तथा विपन्न समुदायसम्म पुर्याउनुपर्नेमा जोड दिए। उनले टिकटक नेपाली कलाकार, उद्यमी, व्यवसायी तथा आमनागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नयनको माध्यम बन्न सक्ने बताए।
सामाजिक सञ्जाललाई विपद्का सूचना, जनचेतनामूलक सन्देश तथा सार्वजनिक सरोकारका विषय प्रवाह गर्ने माध्यमका रूपमा पनि प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो।
भेटमा सहभागी टिकटकका सरकारी सम्बन्ध तथा सार्वजनिक नीति मामिला हेर्ने वरिष्ठ निर्देशक एमिर गेलेनले नेपालमा डिजिटल साक्षरता अभिवृद्धि र सामुदायिक विकासमा योगदान गर्न टिकटक प्रतिबद्ध रहेको बताए।
उनले नेपाली व्यापार, पर्यटन, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी जनचेतना अभियानमा नेपाल सरकारसँग सहकार्य गर्ने इच्छा व्यक्त गरे।

