
फाइल तस्बीर।
काठमाडौ। देशका विभिन्न जिल्लाका नदी तथा खोलामा आकस्मिक बाढी (फ्ल्यास फ्लड) आउन सक्ने जोखिम देखिएपछि जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले वर्षाको अवस्था, नदीको जलसतहको पूर्वानुमान तथा चक्रवातको सम्भावित प्रभावसमेत विश्लेषण गरी जलविज्ञानसम्बन्धी जोखिम आकलन सार्वजनिक गरेको हो। उक्त आकलनअनुसार विशेषगरी पूर्वी तथा मध्य नेपालका केही जिल्लामा नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ।
सम्भावित वर्षा र जलजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै नदी तथा खोलाको आसपासका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदी किनार, खोला छेउका सडक, जोखिमयुक्त नदी उपत्यका तथा हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ।
अत्यावश्यक कामले यात्रा गर्नुपर्ने अवस्थामा मौसमको अवस्था बुझेर उच्च सतर्कता अपनाउनुपर्नेछ। जोखिमयुक्त समयमा खोला तर्ने, नदी किनारमा जाने तथा बाढीको जोखिम हुने स्थानमा बस्ने वा अन्य गतिविधि गर्ने काम नगर्न पनि आग्रह गरिएको छ।
सम्बन्धित निकायले आधिकारिक सूचना तथा स्थानीय प्रशासनबाट जारी निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।
विभागका अनुसार सार्वजनिक गरिएको विवरण प्रारम्भिक जलविज्ञान जोखिम आकलन हो। मौसम प्रणालीको अवस्था र सम्भावित जोखिमको निरन्तर अनुगमन गर्दै आगामी दिनका लागि पाँचदिने बाढी-पहिरो पूर्वानुमान तथा पूर्वसूचनासहितका विस्तृत बुलेटिन जारी गरिनेछ।



