Nepal Purbadhar

सङ्खुवासभाको दुर्गम हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली, किमाथाङ्कामा पनि विस्तार हुँदै


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका-३, हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी विद्युत् आपूर्ति सुरू गरेको छ। यसअघि लघु जलविद्युत् आयोजनाबाट विद्युत् उपभोग गर्दै आएका स्थानीय बासिन्दाले अब राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युत् पाउने भएका छन्।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत योजना तथा प्राविधिक सेवा विभागमार्फत सञ्चालित आयोजनाबाट हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार गरिएको हो। राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएसँगै यस क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो र नियमित हुने अपेक्षा गरिएको छ।

खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीका अनुसार भोटखोला गाउँपालिकाको कार्यालय र हाहियास्थित अस्पतालमा थ्री फेजका मिटर जडान गरी विद्युत् आपूर्ति सुरू गरिएको छ। राष्ट्रिय प्रसारण लाइन विस्तारले स्थानीय क्षेत्रमा विद्युत्को उपलब्धता, नियमितता र विश्वसनीयता बढाउन सहयोग पुग्ने उनले बताए।

राष्ट्रिय प्रसारण लाइन विस्तारबाट स्थानीय बासिन्दासँगै सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानीपिसानी मिल र घरेलु उद्योग प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। भरपर्दो विद्युत् आपूर्तिले स्वास्थ्य तथा शिक्षा सेवा सञ्चालन र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

किमाथाङ्कासम्म विद्युत् पुर्‍याउने लक्ष्य

चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्म पनि राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न प्राधिकरणले प्रक्रिया अघि बढाएको छ। उक्त क्षेत्रमा विद्युत् पुर्‍याउन ठेक्का प्रक्रिया अघि बढिसकेको प्राधिकरणले जनाएको छ।

चालु आर्थिक वर्षभित्रै किमाथाङ्कामा राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरू गर्ने लक्ष्य राखिएको छ। यो योजना कार्यान्वयन भएमा भौगोलिक रूपमा विकट सीमावर्ती क्षेत्रमा विद्युत् पहुँच विस्तार हुनुका साथै स्थानीय बासिन्दाले थप भरपर्दो सेवा पाउने अपेक्षा गरिएको छ।

जिल्लाका ९५ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन

प्राधिकरणका अनुसार सङ्खुवासभाका करिब ९५ प्रतिशत घरधुरीले राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् उपभोग गरिरहेका छन्। बाँकी घरधुरीमा लघु जलविद्युत् तथा सौर्य ऊर्जामार्फत विद्युत् आपूर्ति भइरहेको छ।

जिल्लाका दुर्गम तथा भौगोलिक रूपमा विकट बस्तीमा राष्ट्रिय प्रसारण प्रणाली विस्तारलाई प्राधिकरणले प्राथमिकता दिँदै आएको छ। राष्ट्रिय प्रसारण लाइनको पहुँच विस्तारसँगै विद्युत् आपूर्तिको गुणस्तर सुधार, सार्वजनिक सेवा प्रवाह सहज बनाउन र स्थानीय उद्योग तथा व्यवसायको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

हटियामा राष्ट्रिय प्रसारण लाइन विस्तार हुनु र किमाथाङ्कासम्म विद्युत् पुर्‍याउने प्रक्रिया अघि बढ्नुले सङ्खुवासभाका दुर्गम बस्तीमा विद्युत् पहुँच विस्तार गर्ने प्रयासलाई थप गति दिएको छ।


Read Previous

रसुवा-नुवाकोट बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई ५ लाख राहत, ६ जनाले पाए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar