Nepal Purbadhar

दुई महिनादेखि गुम्बाको बास, सरकारको बाटो कुर्दाकुर्दै थकित तन लिएर गाँउ फर्किदै बाढी पीडित


काठमाडौं । भोटेकोशी बाढीबाट विस्थापित रसुवाको टिमुरेका बासिन्दा दुई महिनादेखि काठमाडौंमा आश्रित छन् । सरकारले स्थायी पुनर्स्थापनाको ठोस योजना अघि नबढाएपछि उनीहरू आफ्नै थातथलो फर्कने तयारीमा जुटेका छन् ।

रसुवाको टिमुरेबाट उद्धार गरिएका बाढीपीडित अहिले काठमाडौंको स्वयम्भुस्थित मुस्ताङ गुम्बामा अस्थायी रूपमा बसिरहेका छन् । उनीहरू सुरक्षित बासस्थान, खाद्यान्न, बालबालिकाको शिक्षा र जीविकोपार्जनको चिन्तामा छन् । सरकारले उपलब्ध गराएको मासिक १५ हजार रुपैयाँले काठमाडौंमा परिवार पाल्न र घरभाडा तिर्नसमेत नपुग्ने उनीहरूको गुनासो छ ।

रसुवाको टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि गुम्बामा एक्लै बसिरहेकी छन् । उनका श्रीमान् साथमा छैनन् भने छोरी विवाह गरेर गइसकेकी छन् । टिमुरेमा आफ्नो जग्गाजमिन र घरसमेत नरहेको उनी बताउँछिन् । बाढीपहिरोले भएको थोरै सम्पत्तिसमेत बगाएपछि बाँकी जीवन कसरी बिताउने भन्ने चिन्ताले उनलाई सताएको छ ।

‘बुढा पनि अलगै हुनुहुन्छ । छोरी बिहे गरेर गइसकिन् । टिमुरेमा पनि जग्गाजमिन केही छैन । घर पनि छैन । अलिअलि भएको पनि बाढीपहिरोले लग्यो,’ उनले भनिन्, ‘सरकारले पनि हेरेको छैन । संस्थाले हेरेको छ, खुवाएको छ ।’

टिमुरेवासीको मुख्य चाहना आफ्नै गाउँ फर्किएर पुरानै जीवनशैलीमा फर्कनु हो । गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेका कामी नुर्बु तामाङले सरकारले स्थायी व्यवस्थापनबारे कुनै जानकारी नदिएको गुनासो गरे । लामो समयसम्म होल्डिङ सेन्टरमा बस्न सम्भव नभएकाले तिहारपछि गाउँ फर्किने तयारी रहेको उनले बताए ।

‘हामी सधैँ यहीँ बसेर हुँदैन । हामी थातथलो फर्कन तयार छौँ । हामी जन्मभूमिमा गएर हिजोको परम्परा, रीतिरिवाज जोगाउन चाहन्छौँ । छिटोभन्दा छिटो फेरि रसुवागढी नाकालाई बनाउनुपर्नेछ । हामी त्यसैका लागि फर्कन चाहन्छौँ,’ उनले भने ।

उनका अनुसार टिमुरेभन्दा माथिल्लो डाँडामा बस्ती बसाउने योजना छ । त्यसका लागि सरकारले खाद्यान्न र अस्थायी टहराको व्यवस्था गरिदिनुपर्ने उनको माग छ । बाढीपीडितलाई राहतस्वरूप उपलब्ध गराइएको रकम पुनर्वासमा उपयोग गर्न सकिने उनको सुझाव छ ।

काठमाडौंमा बस्दा स्थानीय भाषा, संस्कृति, खानपिन र सामाजिक वातावरण नमिलेको पनि उनले बताए । आफ्नो समुदायको परम्परा र पहिचान जोगाउन पनि गाउँ फर्कनुपर्ने उनको भनाइ छ ।

‘हाम्रो अभिभावक भनेको त सरकार हो । हामी भारतबाट आएको शरणार्थी होइनौँ, चीनबाट आएको शरणार्थी होइनौँ । लिच्छवीकालदेखि नै त्यो रसुवागढी नाका सञ्चालनमा आयो । हामी पुर्खादेखि नाकाको सुरक्षाकर्मी हौँ,’ उनले भने ।

बाढीका कारण अभिभावक गुमाएका बालबालिकाको भविष्यप्रति पनि उनले चिन्ता व्यक्त गरे । सरकारले बालबालिकाको स्वास्थ्य, शिक्षा र समग्र विकासमा विशेष ध्यान दिनुपर्ने उनको आग्रह छ । पीडितका समस्या सम्बोधन नभए सडक आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनीसमेत दिए ।

अर्की बाढीपीडित पासाङ तामाङले पनि आफूहरूको सबैभन्दा ठूलो समस्या बासस्थान रहेको बताइन् । सबै टिमुरेवासीलाई एकै ठाउँमा राख्ने र गाउँ फर्कने वातावरण बनाउने जिम्मेवारी सरकारले लिनुपर्ने उनको माग छ ।

‘सरकारले, संसारले हाम्रो दुःख देखेको छ । पहिलो त हामीलाई बासकै समस्या छ । हामी हाम्रै गाउँ फर्कन चाहन्छौँ । गाउँ फर्कन बाटो बनाउनुपर्ने छ । त्यो गरिन्जेल तत्काललाई सबैलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइदिएको भए धेरै राम्रो हुन्थ्यो,’ उनले भनिन् ।

भदौ १० गतेको बाढीको त्रासदी सम्झँदा टिमुरेवासी अझै झस्किन्छन् । बाढी आएपछि ज्यान जोगाउन उनीहरू डाँडातर्फ लागेका थिए । उद्धारको प्रतीक्षामा दिनभर बसे पनि तत्काल कोही नआएपछि गाउँकै घरमा रात बिताउनुपरेको थियो ।

भोलिपल्ट हेलिकप्टरमार्फत उद्धार सुरू भयो । एकपटकमा ८ देखि ९ जनाका दरले सबैलाई धुन्चे ल्याइएको थियो । त्यसपछि स्थलमार्ग हुँदै उनीहरूलाई काठमाडौं पुर्‍याइएको थियो । उद्धारपछि सुरुमा १० दिन यल्लो गुम्बामा राखिएका उनीहरूलाई पछि स्वयम्भुस्थित मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको हो ।

सरकारले बाढीपीडितलाई अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरे पनि उक्त रकम पर्याप्त नभएको उनीहरूको गुनासो छ ।

बाढीपीडित पेम्बा जाङ्मु घलेका अनुसार काठमाडौंमा परिवारका लागि एउटा फ्ल्याट भाडामा लिन मात्रै २० देखि २५ हजार रुपैयाँ खर्च हुन्छ । त्यसबाहेक खाद्यान्न, बालबालिकाको पढाइ र अन्य दैनिक खर्च धान्नुपर्ने भएकाले सरकारले दिएको रकमले गुजारा चलाउन कठिन भएको उनले बताइन् ।

‘अलिअलि पैसा हुने त गयो । हामी त केही छैन । पीडितै हो । बच्चा विदेश गएको पनि त्यस्तो केही छैन । भएको बच्चा पढ्दै छ । १५ हजारले घरभाडा तिर्ने कि ? रासनको तिर्ने कि ? पढेको तिर्ने कि ?’ उनले प्रश्न गरिन् ।

उनका अनुसार काठमाडौंमा बसिरहनुभन्दा गाउँ फर्केर आफ्नै श्रम र उत्पादनमा निर्भर भएर जीवन चलाउन सहज हुनेछ ।

‘मकै पिसेर, चामल पिसेर खाने गरेर भए पनि हामी गाउँमै जाने हो,’ उनले भनिन् ।

हाल मुस्ताङ गुम्बामा ४११ जना बाढीपीडित आश्रित छन् । तीमध्ये २०७ जना पुरुष र २०४ जना महिला छन् । आश्रितमध्ये १७१ जना बालबालिका र ८० जना वृद्धवृद्धा रहेका छन् ।

सरकारले तत्कालीन राहत र अस्थायी आवासको व्यवस्था गरे पनि टिमुरेवासीको मुख्य माग सुरक्षित स्थानमा सामूहिक पुनर्वास, गाउँसम्म पुग्ने सडक तथा आधारभूत सेवा पुनःस्थापना हो । उनीहरूका लागि अब राहतभन्दा पनि आफ्नै थातथलोमा सम्मानजनक जीवन पुनःसुरू गर्ने वातावरण महत्वपूर्ण बनेको छ ।


Read Previous

पहिलो त्रैमासमै सिँचाइ आयोजनाको प्रगति उत्साहजनक, २३९ करोड खर्च

Read Next

नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउने भन्दै प्रत्यायन केन्द्र स्थापना, गर्ने काम के हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar