Nepal Purbadhar

नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउने भन्दै प्रत्यायन केन्द्र स्थापना, गर्ने काम के हो?


काठमाडौं। सरकारले नेपालको औद्योगिक विकास, उत्पादनको गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ ।

त्रिपुरेश्वरस्थित केन्द्रको आज आयोजित कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री ई. दीपककुमार साहले उद्घाटन गरे । केन्द्रको सञ्चालनले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन, उत्पादनको गुणस्तरमा उपभोक्ताको विश्वास बढाउन र नेपाली वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न महत्वपूर्ण योगदान हुने भनिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री साहले उद्योगको लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने दिशामा केन्द्रको सञ्चालन कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार केन्द्र सञ्चालनमा आएसँगै प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्ने आधार तयार भएको छ । यसले उद्योगी तथा व्यवसायीलाई परीक्षण र प्रमाणीकरणका लागि विदेशका निकायमा निर्भर हुनुपर्ने अवस्थालाई कम गर्नेछ ।

त्यस्तै, परीक्षण तथा प्रमाणीकरणमा लाग्ने समय र खर्च घटाउनुका साथै उत्पादनको गुणस्तर सुधार गर्न पनि केन्द्रले सहयोग पुर्‍याउने मन्त्रालयको विश्वास छ ।

केन्द्रको स्थापनापछि खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री, विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता अभिवृद्धि हुने छ । यसबाट उपभोक्ताले सुरक्षित र गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने आधार बलियो बन्नेछ ।

नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न पनि केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ ।

‘यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय विश्वास बढाउन र निर्यातकर्ताको लागत तथा प्रक्रियागत झन्झट घटाउन सहयोग पुग्नेछ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले उपभोक्तालाई सुरक्षित वस्तु उपलब्ध गराउने, उद्योगीलाई अनावश्यक खर्च र प्रक्रियागत झन्झटबाट मुक्त गर्ने तथा नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने लक्ष्यसहित केन्द्र स्थापना गरेको जनाएको छ ।


Read Previous

दुई महिनादेखि गुम्बाको बास, सरकारको बाटो कुर्दाकुर्दै थकित तन लिएर गाँउ फर्किदै बाढी पीडित

Read Next

दुईतिहाइको सरकार, तर भान्सामा ग्यासको हाहाकार: प्रशासनको दाबी र उपभोक्ताको भोगाइ फरक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar