Nepal Purbadhar

विद्युत् सुरक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्न, देशभरका वितरण केन्द्रमा पनि प्रशिक्षण दिइने


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको तालिम व्यवस्थापन विभागको आयोजनामा बागमती प्रदेशका वितरण केन्द्रका सुरक्षा सम्पर्क व्यक्तिहरूका लागि सञ्चालित तीनदिने विद्युत् सुरक्षा प्रशिक्षक प्रशिक्षण (TOT) सम्पन्न भएको छ। कात्तिक १४ देखि १६ गतेसम्म भक्तपुरको खरीपाटीस्थित तालिम व्यवस्थापन विभागमा प्रशिक्षण सञ्चालन गरिएको हो।

प्रशिक्षणमा बागमती प्रादेशिक कार्यालय र बागमती प्रदेश डिभिजन कार्यालयअन्तर्गतका वितरण केन्द्रबाट करिब २५ जना सुरक्षा सम्पर्क व्यक्ति सहभागी भएका थिए।

प्रशिक्षणको पहिलो दिन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले प्रभावकारी प्रस्तुतीकरण गर्ने सीपबारे प्रशिक्षण दिएको थियो। दोस्रो दिन नेपाल विद्युत् प्राधिकरणका निर्देशक मुनीन्द्र ठाकुरले कर्मचारी, लाइनम्यान, उपभोक्ता, विद्यालय तथा स्थानीय तहलाई लक्षित गरी दिनुपर्ने विद्युत् सुरक्षासम्बन्धी विषयवस्तुबारे सहजीकरण गरेका थिए।

त्यसैगरी, सहभागीहरूले तेस्रो दिन प्रस्तुत गर्नुपर्ने आफ्नै प्रशिक्षण सामग्री तयार गरेका थिए। जयकुमार यादव, रामु श्रेष्ठ र मेघनाथ ढकालले प्रशिक्षण सामग्री तयारी तथा प्रस्तुतीकरणमा सहजीकरण गरेका थिए। अन्तिम दिन सहभागीहरूले तयार पारेको सामग्री प्रस्तुत गरेका थिए भने उनीहरूको प्रस्तुतीकरण र दक्षताको मूल्याङ्कन गरिएको थियो।

प्रशिक्षणको मुख्य उद्देश्य वितरण केन्द्रका सुरक्षा सम्पर्क व्यक्तिहरूलाई लक्षित समूहको आवश्यकता र बुझाइअनुसार विद्युत् सुरक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउनु हो। यसमा सुरक्षित कार्य अभ्यास, विद्युत् जोखिम पहिचान, घरायसी विद्युत् सुरक्षा, अर्थिङ, आपत्कालीन सावधानी तथा सार्वजनिक स्थानमा हुन सक्ने जोखिम न्यूनीकरणका विषय समेटिएका थिए।

नेपाल विद्युत् प्राधिकरणले यो प्रशिक्षण आगामी दिनमा अन्य प्रदेशमा समेत विस्तार गर्ने योजना बनाएको छ। यसबाट देशभरका वितरण केन्द्रमा एउटै मापदण्डअनुसार प्रशिक्षित सुरक्षा सम्पर्क व्यक्ति तयार हुने र विद्युत् सुरक्षासम्बन्धी सचेतना तथा सुरक्षित कार्यसंस्कृति विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


Read Previous

मझिमटारमा आकाशे पुलको गर्डर राख्न मलेखु-मुग्लिङ सडक २ घण्टा बन्द

Read Next

नदी नियन्त्रणमा ऊर्जा मन्त्रालयको त्रैमासिक भौतिक प्रगति ३४.९ प्रतिशत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar