
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गतको पोखरा-मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। ८१ किलोमिटर लामो सडकको पूर्वी खण्डको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने पश्चिम खण्डको भौतिक प्रगति ८६ प्रतिशत पुगेको छ।
आयोजना कार्यालयका अनुसार जामुने-मुग्लिन खण्डको निर्माण सम्पन्न भई त्रुटि सच्याउने अवधि (डीएलपी) सुरू भएको छ। उक्त खण्डमा दमौली र डुम्रे बजार क्षेत्रमा ६ लेन तथा अन्य क्षेत्रमा चार लेन सडक निर्माण गरिएको छ।
त्यस्तै, पोखरा-जामुने खण्डको बाँकी काम आगामी मंसिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यस खण्डमा करिब ५ किलोमिटर सर्भिस लेन कालोपत्र गर्न बाँकी छ भने सडक चिह्न, ट्राफिक सङ्केत र सडक सुरक्षा सम्बन्धी काम भइरहेको छ।
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडक स्तरोन्नति सम्पन्न भएपछि काठमाडौं, चितवन र अन्य स्थानबाट पोखरा आवतजावत थप सहज हुने अपेक्षा गरिएको छ। यसले गण्डकी प्रदेशको आर्थिक तथा पर्यटकीय गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

