
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुरले काठमाण्डु गोर्खाजलाई ८ विकेटले पराजित गरेको हो।
काठमाण्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरको जितमा मोइन अली र सैफ हसनले उत्कृष्ट ब्याटिङ गरे।
मोइनले ५१ बलमा ५८ रन बनाउँदै अविजित रहे। उनले ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, सैफ हसनले ३९ बलमा ४० रन बनाए। यी दुईले तेस्रो विकेटका लागि अविजित ७९ रनको साझेदारी गर्दै टोलीलाई जित दिलाए।
लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ रन बनाउँदा तृतराज दास र ३७ रन पुग्दा मयन यादवलाई गुमाएको थियो। तृतराजले ५ र मयनले ९ रन बनाए। त्यसपछि मोइन र सैफले टोलीलाई सहज जिततर्फ अघि बढाए। काठमाण्डुका रिपोन मोन्डलले १ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ३ बलमा ११५ रनमा अलआउट भएको थियो। काठमाण्डुलाई कम योगफलमा रोक्न जनकपुरका राहुल यादवले ४ विकेट लिए। उनले ४ ओभरमा ३१ रन खर्चिए।
राहुलले दुवै ओपनर साम हिजलेट र स्मित पटेलसहित कप्तान करण केसी तथा आदिल आलमलाई आउट गरे। सैफ हसनले २ विकेट लिए भने मोइन अली, कप्तान हरमित सिंह र ललित राजवंशीले १-१ विकेट हात पारे।
काठमाण्डुका भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा ४ चौका प्रहार गरे। रसिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन बनाए। अन्य ब्याटरले उल्लेख्य योगदान दिन नसक्दा काठमाण्डु सामान्य योगफलमै समेटियो।
पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा आफ्नो खाता खोलेको छ।
वर्षाले विराटनगर र कर्णालीबीचको खेल प्रभावित हुने सम्भावना
एनपीएलअन्तर्गत बिहीबार साँझ ५ बजेका लागि तय भएको विराटनगर किंग्स र कर्णाली याक्सबीचको खेल वर्षाका कारण प्रभावित हुने सम्भावना बढेको छ।
काठमाण्डु गोर्खाज र जनकपुर बोल्ट्सबीचको खेल सकिएलगत्तै त्रिवि क्रिकेट मैदानमा छिटपुट वर्षा सुरू भएको थियो। वर्षा हुन थालेपछि मैदानलाई त्रिपालले ढाकिएको छ।
खेल हुनुअघि काठमाडौंको आकाश बादलले ढाकिएको थियो भने मैदानमा अँध्यारो बढेपछि फ्लडलाइटसमेत बालिएको थियो। वर्षा जारी रहेमा साँझको खेल सुरू हुन ढिलाइ हुन सक्ने वा खेल प्रभावित हुन सक्ने देखिएको छ।

