Nepal Purbadhar

मेची करिडोरको ठेक्का रद्द, ४७ प्रतिशत मात्रै काम


काठमाडौँ। मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नतिको ठेक्का सम्झौता रद्द गरिएको छ। पटकपटक म्याद थप्दा पनि निर्माणमा अपेक्षित प्रगति नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको हो।

पूर्वाधार विकास मन्त्रालयका अनुसार ९.५ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने भए पनि पटकपटक म्याद थप गर्दा भौतिक प्रगति ४७ प्रतिशतमा सीमित भएको थियो।

पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि मन्त्रालयअन्तर्गतको सडक डिभिजनले ठेक्का सम्झौता अन्त्य गरेको हो।

इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि हालसम्म १२ ओटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ। यस क्रममा निर्माण व्यवसायीबाट पेस्कीबापतको २ करोड ३८ लाख रुपैयाँ असुल गरिएको छ।

त्यसैगरी, ६ करोड ७९ लाख रुपैयाँ बराबरको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको कार्यालयले जनाएको छ।

ठेक्का रद्द गरिएको सडकखण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरेर नयाँ ठेक्का प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।


Read Previous

मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

Read Next

चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभाव, हवाई सुरक्षा सतर्कता जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar