Nepal Purbadhar

हिम पावर हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्ने


काठमाडौं । हिम पावर हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीको आईपीओमा आजदेखि आवेदन दिन सकिनेछ ।

कम्पनीले पहिलो चरणमा दोलखा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी सेयर बिक्री खुला गरेको हो । यी दुई समूहका लागि सेयर बाँडफाँट गरेपछि बाँकी प्रक्रिया पूरा गरी अन्य सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिनेछ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत बराबर ५९ करोड १५ लाख रुपैयाँको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । त्यसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरका १६ लाख ९० हजार कित्ता सेयर छुट्याइएको छ । प्रतिकित्ता सेयरको अंकित मूल्य १०० रुपैयाँ छ ।

स्थानीय बासिन्दाका लागि छुट्याइएको सेयरमध्ये १० लाख १४ हजार कित्ता आयोजनाको अति प्रभावित क्षेत्रमा वितरण गरिनेछ । उक्त सेयर दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का स्थायी बासिन्दाले पाउनेछन् । बाँकी ६ लाख ७६ हजार कित्ता ती दुई गाउँपालिकाका अन्य वडाका स्थायी बासिन्दाका लागि छुट्याइएको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिनेछ । यो सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत हो । उक्त सेयरका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको आवेदन खुला गरिएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभए निष्कासनको समय मंसिर १० गतेसम्म थपिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने कात्तिक १६ गतेदेखि आवेदन बन्द हुन सक्ने र अधिकतम कात्तिक २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।

स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक र प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन् । आवेदन फारामका लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओको रेटिङका क्रममा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।


Read Previous

सार्वजनिक- निजी साझेदारी: पूर्वाधार विकासको आधार कि कार्यान्वयनमै अल्झिएको सपना?

Read Next

जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar