Nepal Purbadhar

नेपालकै दोस्रो जलाशययुक्त आयोजनाको प्रगति ७५.५ प्रतिशत, बाँधदेखि प्रसारण लाइनसम्म काम तीव्र

default


दमौली। नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड (टिएचएल) ले निर्माण गरिरहेको १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति ७५.५ प्रतिशत पुगेको छ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो आयोजना सेती नदीमा निर्माणाधीन छ। नेपाल सरकार, नेपाल विद्युत प्राधिकरण तथा एसियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा आयोजना निर्माण भइरहेको हो।

default

आयोजनाअन्तर्गत बाँध तथा हेडवर्क्स निर्माण (प्याकेज-१) को प्रगति ५९ प्रतिशत पुगेको छ। सोङदा-कालिका जेभीले निर्माण गरिरहेको १४० मिटर अग्लो मुख्य बाँधका लागि सेती नदीलाई डाइभर्सन सुरुङमार्फत पथान्तरण गरेपछि २०८१ चैत ७ गतेदेखि मुख्य बाँधको कंक्रिटिङ सुरु गरिएको थियो। हाल दायाँ र बायाँ किनारमा ग्राउटिङ ग्यालरी सुरुङ निर्माण, ड्रिलिङ तथा कंक्रिटिङको काम तीव्र रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ।

विद्युतगृह तथा उपकरण जडान (प्याकेज-२) को समग्र प्रगति ७७ प्रतिशत पुगेको छ। चीनको सिनो हाइड्रो कर्पोरेसनले निर्माण गरिरहेको यस प्याकेजअन्तर्गत भूमिगत संरचनाको उत्खनन शतप्रतिशत सम्पन्न भइसकेको छ। विद्युतगृह, सर्ज ट्याङ्क, केवल सुरुङ र टेलरेसलगायत संरचनाको कंक्रिटिङ पनि सकिएको छ। अहिले टर्बाइन, जेनेरेटर, मुख्य इन्लेट भल्भलगायत इलेक्ट्रोमेकानिकल उपकरण जडान भइरहेको छ। २१३.३ मिटर लामो पेनस्टक पाइपमध्ये २११.३ मिटर जडान सम्पन्न भइसकेको छ भने अहिले रङरोगन र परीक्षणको काम चलिरहेको छ।

default

त्यसैगरी, भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडले निर्माण गरिरहेको दमौली-भरतपुर २२० केभी प्रसारण लाइन (प्याकेज-३) को प्रगति ७८ प्रतिशत पुगेको छ। ३३ किलोमिटर लामो प्रसारण लाइनका लागि निर्माण गरिने ९४ वटा टावरमध्ये ७९ वटाको जग निर्माण सम्पन्न भएको छ भने ६९ वटा टावर खडा गरिसकिएको छ। चितवनतर्फ रुख छपानको काम पूरा भई प्रतिवेदन बागमती प्रदेश वन निर्देशनालयमा बुझाइएको छ भने तनहुँतर्फको काम जारी रहेको आयोजनाले जनाएको छ।

यसबीच, एडीबी र जाइकाका प्रतिनिधिमण्डलले हालै आयोजनास्थलको निरीक्षण गरी निर्माण प्रगति, सामाजिक तथा वातावरणीय सुरक्षणका पक्षबारे समीक्षा गरेका छन्।

default

आयोजना प्रभावित व्यास नगरपालिकाका बेतेनी, झापुटार, होक्सेटार र बेलवास क्षेत्रका स्थानीयसँग नियमित परामर्श बैठक सञ्चालन भइरहेको छ। स्थानीयले उठाएका ध्वनि तथा धुलो प्रदूषण न्यूनीकरण, मनसुनअघि नदी किनार संरक्षणका लागि ग्याविन संरचना निर्माण तथा आपत्कालीन सूचना प्रणालीका लागि साइरन जडानलाई प्राथमिकतामा राखेर काम भइरहेको आयोजनाले जनाएको छ।

जैविक विविधता संरक्षणका लागि आयोजना क्षेत्रमा मत्स्य ह्याचरी सञ्चालनमा ल्याइएको छ। साथै, मादी नदी क्षेत्रमा ‘नो नेट लस’ सिद्धान्तअनुसार ‘मादी अफसेट योजना’ परिमार्जन गर्ने सहमति भएको छ।

default

आयोजना प्रभावित क्षेत्रमा उपभोक्ता समितिमार्फत हालसम्म ९६ वटा सामुदायिक विकास आयोजना सम्पन्न भएका छन्। ट्रस पुल, झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा विद्यालय भवन निर्माणसहित सात वटा योजना कार्यान्वयनको चरणमा रहेका छन्।

लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत ऋषिङ गाउँपालिका-८ पल्ट्याङका मगर समुदायका महिलालाई बेमौसमी तरकारी खेती, वित्तीय साक्षरता तालिम, कृषि सामग्री तथा हाते ट्र्याक्टर वितरण गरिएको छ।

त्यसैगरी, मध्यवर्ती क्षेत्रभित्रको जग्गा अधिग्रहण तथा मुआब्जा वितरण प्रक्रियालाई पारदर्शी बनाउन मुआब्जा निर्धारण समितिका पदाधिकारीलाई सुरक्षण नीति सम्बन्धी अभिमुखीकरणसमेत सञ्चालन गरिएको छ।

default

यसैबीच, तनहुँ हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न लागेको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरिएको छ। साथै, मुआब्जा निर्धारणका लागि प्रभावित क्षेत्रको स्थलगत अध्ययन र तथ्याङ्क सङ्कलन सम्पन्न भएको छ भने अन्वेषण सुरुङ पोर्टल निर्माण कार्य पनि सफलतापूर्वक सम्पन्न भएको कम्पनीले जनाएको छ।

default
default

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

Read Next

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा बढाए चहलपहल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar