Nepal Purbadhar

जुम्लामा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन, किसानको आकर्षण बढ्दै


जुम्ला। जुम्लामा एक वर्षमा तीन हजार ६७१ मेट्रिकटन सिमी उत्पादन भएको छ। कृषि विकास कार्यालय जुम्लाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा उत्पादित सिमी बिक्रीबाट जिल्लाले रु एक करोड ३३ लाख ९२ हजार आम्दानी गरेको छ।

कार्यालय प्रमुख रामभक्त अधिकारीले जिल्लाभर दुई हजार २५७ हेक्टर क्षेत्रफलमा सिमी खेती हुने गरेको जानकारी दिए। बजारमा सिमीको माग बढ्दै गएपछि किसानहरू यसतर्फ आकर्षित हुँदै गएको उनले बताए। उनका अनुसार सिमी जुम्लाका किसानका लागि महत्वपूर्ण नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।

तिला गाउँपालिका, तातोपानी, चन्दननाथ, कनकासुन्दरी, पातारासी, हिमा, गुठीचौरलगायत क्षेत्रमा किसानले सिमीखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। तर उत्पादन राम्रो भए पनि बजार व्यवस्थापन र मूल्य निर्धारणमा एकरूपता नहुँदा किसानले समस्या भोग्नुपरेको बताएका छन्।

जिल्लाको प्रमुख सिमी उत्पादन क्षेत्र मानिने तिला गाउँपालिका–१ रारागाउँका किसानले गत वर्ष न्यूनतम तीन क्विन्टलदेखि १२ क्विन्टलसम्म सिमी उत्पादन गरेका थिए। स्थानीय किसानका अनुसार उचित मूल्य नपाउँदा सिमी प्रतिकेजी १५० रुपैयाँमा स्थानीय व्यापारीमार्फत बिक्री गर्न बाध्य हुनुपरेको छ।

सिमी उत्पादन प्रवर्द्धनका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ जुम्लाले तिला–१ रारालाई सिमी जोन क्षेत्र घोषणा गरेको छ। वडा नं. १, २, ८ र ९ का करिब ८०० हेक्टर क्षेत्रफलमा व्यावसायिक सिमी उत्पादन तथा प्रशोधन केन्द्र विकास गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन भइरहेको एकाइ प्रमुख खेमराज शाहीले बताए।

कृषि विकास कार्यालयले किसानलाई उन्नत बीउ, प्राविधिक सहयोग तथा व्यावसायिक खेतीसम्बन्धी तालिम उपलब्ध गराउँदै आएको जनाएको छ।


Read Previous

रास्वपाले राजनीतिक संस्कार परिवर्तनको नेतृत्व गर्छ- उपसभापति डा. स्वर्णिम वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar