
सांकेतिक तस्बीर।
काठमाडौं। बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका-९ मा बसोबास गर्दै आएका धादिङको नीलकण्ठ नगरपालिका-८ रामकोटका बाबुराम श्रेष्ठ पक्राउ परेका हुन्।
जिल्ला अदालत काठमाडौँले २०८१ फागुन ४ गतेको फैसलामार्फत बैंकिङ कसुर मुद्दामा उनलाई बिगोबापत दुई वर्ष कैद सजाय सुनाएको थियो। फैसला पश्चात फरार रहेका श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका-२७ महाबौद्ध क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको छ। अदालतको आदेशअनुसार बाँकी कानुनी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।

