
सांकेतिक तस्बिर
काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ।
समितिले जारी गरेको विज्ञप्तिअनुसार यस वर्ष मनसुन सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो, गेग्रान र बाढीका कारण सुरुङभित्र माटो, ढुङ्गा तथा लेदो पस्ने जोखिम बढेकाले आयोजना केही समयका लागि बन्द गरिएको हो।
समितिका सूचना अधिकृत मधु तिमल्सेनाले नदीको पानी अत्यधिक धमिलो हुने सम्भावना रहेकाले पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी भार पर्ने अवस्था सिर्जना हुन सक्ने बताए। सुरुङको सुरक्षालाई ध्यानमा राख्दै पानी पथान्तरण रोकिएको उनले जानकारी दिए।
उनका अनुसार निरन्तर वर्षाका कारण मुहान क्षेत्रभन्दा माथि रहेको भ्रमाथाङ क्षेत्रमा ठूलो मात्रामा रहेको गेग्रान र हेडवर्क्सभन्दा माथिका पहिरो जुनसुकै बेला बगेर सुरुङभित्र पस्न सक्ने जोखिम छ। साथै नदीमा पानीको बहाव बढेकाले कर्मचारीहरूको आवतजावतसमेत कठिन बनेको छ।
तिमल्सेनाले बाढीका कारण पानीको धमिलोपन प्रशोधन केन्द्रको क्षमताभन्दा बढी हुँदा सुरुङको गेट पटक–पटक खोल्न र बन्द गर्नुपर्ने अवस्था आउने, जसले सुरुङको संरचनामा असर पार्न सक्ने बताए। सुरुङभित्र जमेको लेदो सफा गर्नुपर्ने, नियमित निरीक्षण र मर्मतसम्भार गर्नुपर्ने भएकाले पनि आयोजना आजदेखि बन्द गरिएको उनले जानकारी दिए।
उनका अनुसार हाल वैकल्पिक प्रणालीमार्फत पानी पथान्तरण भइरहेको छ। विगत चार वर्षदेखि सुरुङको नियमित सफाइ, मर्मत र निरीक्षण हुन नसकेकाले मनसुन अवधिमा ती कार्यसमेत सम्पन्न गरिनेछ।
समितिले मनसुन समाप्त भएपछि सकेसम्म छिटो मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा पथान्तरण गरिने जनाएको छ। मेलम्चीको पानी बन्द रहे पनि वैकल्पिक स्रोतबाट पानी सङ्कलन गरी उपत्यकाका उपभोक्तालाई नियमित खानेपानी उपलब्ध गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिने समितिले जनाएको छ।
विसं २०७८ असार १ गते तथा सोही वर्ष साउन १६ र १७ गते मेलम्ची नदीमा आएको आकस्मिक बाढीले आयोजनाको अम्बाथानस्थित हेडवर्क्स, सडक पहुँचलगायतका संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मुख्य प्रणाली सञ्चालनमा आउन नसकेपछि समितिले हरेक वर्ष मनसुन सकिएपछि वैकल्पिक प्रणालीको सफाइ र मर्मत गरी अस्थायी रूपमा काठमाडौँ उपत्यकामा पानी पथान्तरण गर्दै आएको छ। यसैक्रममा गत असोज २६ गतेदेखि हालसम्म सुरुङमार्फत निरन्तर पानी आपूर्ति भइरहेको थियो।

