
फाईल तस्बीर।
चितवन, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रथम महाधिवेशन नेपालको राजनीतिक पुनर्जागरणको सुरुआत बन्न सक्ने बताएका छन्।
चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट जन्मिएको दल नभई नेपाली समाजमा सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए।
उनले विगतका आन्दोलनले नेपालमा लोकतन्त्र, संविधान र समावेशिताको आधार निर्माण गरे पनि लोकतन्त्रको संस्थागत गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको उल्लेख गरे। निर्वाचन भए पनि उत्तरदायित्व कमजोर रहेको, संविधान बने पनि संस्थाहरू बलिया हुन नसकेको तथा राज्यको आकार विस्तार भए पनि क्षमता नबढेको उनको भनाइ थियो।
डा. वाग्लेले नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत प्रोत्साहन संरचना रहेको बताए। राजनीतिमा इमानदार व्यक्तिको प्रवेश कठिन र पहुँचवालाको सफलता सहज हुने अवस्था बनेको तथा व्यवसायमा नवप्रवर्तनभन्दा शक्ति केन्द्रसँगको निकटता लाभदायक हुने प्रवृत्ति विकास भएको उनको टिप्पणी थियो।
उनले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको बताए। विवेक, विधि र नियममा आधारित शासन, भागबण्डाबाट मेरिटोक्रेसीतर्फको यात्रा तथा नागरिक केन्द्रित लोकतन्त्र पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो।
रास्वपा कसैलाई हराउन नभई नेपाललाई जिताउन आएको उल्लेख गर्दै उनले पार्टीको शक्ति आक्रोश मात्र नभई आशा, आलोचना मात्र नभई विकल्प र विद्रोह मात्र नभई निर्माण हुनुपर्नेमा जोड दिए।
उनले रास्वपा आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुँदै गएको बताउँदै नयाँ पुस्ताले प्रश्न मात्र होइन उत्तर दिन, विरोध मात्र होइन शासन चलाउन र सपना मात्र होइन परिणाम दिन सक्ने प्रमाणित गर्नुपर्ने बताए।
डा. वाग्लेले रास्वपाले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्यको परिकल्पना गरेको बताए। पहुँचभन्दा क्षमता, संरक्षणवादभन्दा प्रतिस्पर्धा तथा नागरिकमाथि शासनभन्दा नागरिकको सेवा गर्ने राज्य निर्माण पार्टीको लक्ष्य रहेको उनले स्पष्ट पारे।
उनले युवाले अवसरका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य हुने, किसान, श्रमिक र उद्यमीले सम्मानपूर्वक काम गर्न सक्ने तथा प्रत्येक नागरिक आफ्नो भविष्यप्रति आशावादी हुन सक्ने नेपाल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
आफ्नो सम्बोधनको अन्त्यमा उनले निराशालाई आशामा, आक्रोशलाई निर्माणमा र विद्रोहलाई रूपान्तरणमा बदल्न आह्वान गर्दै उदार, समृद्ध, समन्यायिक र आत्मविश्वासी नेपाल निर्माणको यात्राको प्रारम्भ चितवनबाट गर्नुपर्ने बताए।
