Nepal Purbadhar

काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित, वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान


पोखरा । काठमाडौंमा सुकुम्बासी बस्तीमाथि धमाधम डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू पनि त्रसित बनेका छन्। पोखरा महानगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्न ३५ दिनको अल्टिमेटम दिएको छ।


महानगरपालिकाको वैशाख ३ गते बसेको कार्यपालिका बैठकको निर्णय अनुसार वैशाख ४ गते सूचना जारी गरेको हो
पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा करिब ४ सय ७५ घरधुरी रहेको सुकुम्बासी बस्तीका बासिन्दाले भने वैकल्पिक व्यवस्था बिना स्थान खाली नगर्ने अडान लिएका छन्। उनीहरूले व्यवस्थापनपछि मात्रै डोजर चलाउन माग गरेका छन्।
हालै गठन गरिएको ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार सङ्घर्ष समिति, जिल्ला समिति कास्की’ले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै सरकारले उचित पुनःस्थापना गरेमा मात्रै बस्ती खाली गर्न तयार रहेको जनाएको छ।


समितिले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। वैशाख २१ गते जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र सोही दिन पृथ्वीचोकमा ¥यालीसहित कोणसभा गर्ने योजना रहेको जनाइएको छ।
तर, वैकल्पिक व्यवस्था नभएसम्म कुनै पनि हालतमा स्थान खाली नगर्ने उनीहरूको स्पष्ट अडान छ।


इतिहास अनुसार, पोखरा–९ पृथ्वीचोक बसपार्क क्षेत्रमा २०३२ सालमा बसपार्क निर्माणका लागि २०५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसपछि उक्त क्षेत्रमा सुकुम्बासीहरू बसोबास गर्दै आएका हुन्।


पोखरा नगर योजना (वि.सं. २०३०) र पोखरा उपत्यकाको गुरुयोजना (वि.सं. २०३१) अनुसार अधिग्रहण गरिएको उक्त जग्गा अतिक्रमण, मुआब्जा वितरण तथा सडक विस्तारका कारण हाल खुम्चिँदै करिब ५० देखि ८१ रोपनीमा सीमित भएको महानगरको प्रतिवेदनमा उल्लेख छ।
तस्बिर: अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी


Read Previous

२७ वर्षमै हाइड्रो रोजेका पन्त: हाक्दैछन् अर्बौका परियोजना, संघर्षबाट सिर्जिएको सफलता

Read Next

अध्यादेश कार्यान्वयनसँगै ऊर्जा क्षेत्रका को को भए पदमुक्त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar