
काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आज असार ३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको थियो। त्यसपछि बाँकी रहेको शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा ल्याइएको हो।
कम्पनीले जारी पूँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न स्वीकृति पाएको थियो। यसमध्ये ८ लाख ६० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई तथा १ लाख ७२ हजार कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। साथै ३४ हजार ४०० कित्ता शेयर कर्मचारीका लागि र ८६ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो।
हाल कम्पनीले दोस्रो चरणअन्तर्गत बाँकी रहेको १४ लाख २७ हजार ६०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल मूल्य १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिटोमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ भने मागअनुसार पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको वित्तीय तथा दायित्व बहन क्षमताको मूल्याङ्कन गर्दै केयर रेटिङ्ग नेपालले ‘केयरएनपी डबल बी प्लस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीमा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।
माउन्ट एभरेष्ट पावरले सञ्चालन गरिरहेको १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजनाको कुल लागत करिब २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी रहेको छ।
कम्पनीका अनुसार आयोजनामा गरिएको लगानी साधारण आधारमा ६.४० वर्षमा फिर्ता हुने अनुमान गरिएको छ भने डिस्काउन्टेड आधारमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सुविधा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थामार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै ‘मेरो शेयर’ अनलाइन प्रणालीबाट समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
