
काठमाडौं। चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन २०२६ र ग्लोबल एआई गभर्नेन्स सम्बन्धी उच्चस्तरीय बैठक आयोजना हुने भएको छ।
चिनियाँ अधिकारीहरूले बुधबार जानकारी दिँदै सम्मेलनको तयारी भइरहेको बताएका हुन्। राष्ट्रिय विकास तथा सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा चीनले यो सम्मेलनलाई एआईसम्बन्धी अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्ने अवसरका रूपमा लिन चाहेको बताए।
उनका अनुसार एआई मानव भविष्यमा गहिरो प्रभाव पार्ने प्रविधि भएकाले यो सबै देशहरूले सामना गर्नुपर्ने साझा विषय हो। चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणका सिद्धान्तलाई समर्थन गर्दै एआई विकासमा विश्वव्यापी योगदान दिइरहेको पनि उनले उल्लेख गरे।
झोउले चीनले विकास र सुरक्षा बीच सन्तुलन कायम गर्दै बहुपक्षीय सहकार्यलाई अघि बढाउने र जन–केन्द्रित एआई विकासको अवधारणालाई प्रवर्द्धन गर्ने नीति अपनाउने बताए।
