
एआई निर्मित तस्बीर
काठमाडौं। सरकारले बर्खायामका कारण हुन सक्ने विद्युत् अवरोध न्यूनीकरण तथा विद्युत् आपूर्ति प्रणालीलाई भरपर्दो बनाउन आवश्यक जनशक्ति र प्राविधिक उपकरण पूर्वतयारी अवस्थामा राखेको जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार विद्युत् प्रवाहमा सन्तुलन कायम राख्न, वितरण सञ्जाललाई थप सुदृढ बनाउन तथा आवश्यक प्राविधिक सुधारका कामलाई निरन्तर अघि बढाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् आपूर्तिमा देखिने समस्या र अवरोधका बारेमा सेवाग्राहीलाई समयमै जानकारी उपलब्ध गराउन तथा ‘नो–लाइट’ सम्बन्धी गुनासोको तत्काल सम्बोधन गर्न झन्डै एक हजार कर्मचारी परिचालन गरिएको जानकारी दिए।
मन्त्रालयका अनुसार गर्मी, हावाहुरी तथा वर्षायाममा बेलाबेलामा विद्युत् आपूर्तिमा अवरोध आउने भएकाले त्यसलाई न्यूनतम बनाउन जीर्ण ट्रान्सफर्मर प्रतिस्थापन, आवश्यक स्थानमा उच्च क्षमताका नयाँ ट्रान्सफर्मर जडान तथा ब्रेकर प्यानल स्तरोन्नतिलाई प्राथमिकताका साथ अघि बढाइएको छ।
गर्मीको समयमा पङ्खा, एयर कन्डिसनर (एसी), फ्रिजलगायत विद्युतीय उपकरणको प्रयोग बढ्नुका साथै विद्युतीय सवारीसाधन चार्जिङका कारण विद्युत्को माग उच्च हुने मन्त्रालयले जनाएको छ।
सेवाग्राहीका गुनासोको छिटो सम्बोधन गर्न ‘नो–लाइट’ एकाइ, सबस्टेसन प्रमुख, प्रदेश कार्यालय प्रमुख तथा वितरण शाखाका जिम्मेवार अधिकारीलाई आवश्यक निर्देशन दिइसकिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले सम्बन्धित निकायबाट समयमै जानकारी वा गुनासोको सुनुवाइ नभए सेवाग्राहीलाई हटलाइन नम्बर ११५१ मा आफ्नो विवरणसहित जानकारी गराउन आग्रह गरेको छ।
मन्त्रालयले सेवाग्राहीका गुनासोप्रति बेवास्ता गर्ने वा आफ्नो जिम्मेवारी पूरा नगर्ने कर्मचारीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने पनि स्पष्ट पारेको छ।
