
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लघंन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ७३ जना, राइड सेयरिङ नियम उल्लघंन गर्ने ८७ जना, रातो बत्तीको उल्लघंन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जना रहेका छन्।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रको नियम उल्लघंन गर्ने ५६ जना, एकतर्फी सडकमा सवारी प्रवेश गराउने ३२ जना तथा अन्य विभिन्न ट्राफिक कसुरमा एक हजार ५८ जनालाई पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले पछिल्लो समय काठमाडौं उपत्यकाभित्र ट्राफिक अनुशासन कायम गराउन नियम उल्लघंन गर्ने सवारीसाधनमाथि नियमित रूपमा निगरानी बढाउँदै कारबाहीलाई तीव्र बनाएको जनाएको छ।

