
काठमाडौं। उमेरले ८३ वर्ष पुगे पनि काठमाडौंकी कमला कार्कीको सेवाभाव र सक्रियता अझै उस्तै छ। महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा तीन दशकभन्दा लामो समय समुदायमा सेवा गरेकी उनी औपचारिक जिम्मेवारीबाट सेवानिवृत्त भए पनि अहिले पनि स्वास्थ्य जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षासम्बन्धी अभियानमा सक्रिय छिन्।
काठमाडौं महानगरपालिका-१५, तुलसीधाराकी कार्कीले २०५५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम सुरू गरेकी हुन्। आफ्नो क्षेत्रका कुनै पनि बालबालिका भिटामिन ‘ए’ र पोलियो खोपबाट वञ्चित नहून् भन्ने उद्देश्यले स्वयंसेवामा लागेको उनी बताउँछिन्।
‘हाम्रो एरियामा भिटामिन ‘ए’ र पोलियो खुवाउँदा कोही नछुटून् लाग्थ्यो। सेवा गर्ने भावनाले तालिम लिएर यो काममा लागेँ,’ उनले भनिन्।

समुदायमा स्वास्थ्य सेवा पुर्याउन लामो समय योगदान गरेकी कार्कीलाई काठमाडौं महानगरपालिकाले २०८० सालमा सम्मान गरेको थियो। महानगरपालिकाले ६० वर्ष सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्ने क्रममा त्यतिबेला ८० वर्षकी रहेकी कार्की पनि सम्मानित भएकी थिइन्।
उनी २०८० सालमै औपचारिक रूपमा सेवाबाट सेवानिवृत्त भइसकेकी छन्। तर, अवकाशपछि पनि उनको सक्रियता रोकिएको छैन। आफूले सकुञ्जेल समुदायका लागि काम गरिरहने उनको अठोट छ।
कार्की भिटामिन ‘ए’ खुवाउने अभियानदेखि डेङ्गु रोगसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमसम्म सहभागी हुँदै आएकी छन्। उमेरले ८३ वर्ष पुग्दा पनि समुदायको स्वास्थ्यप्रति उनको चासो र जिम्मेवारीबोध उत्तिकै छ।
औपचारिक जिम्मेवारीबाट अवकाश पाए पनि समाजसेवामा उमेर बाधक हुँदैन भन्ने उदाहरण कार्की बनेकी छन्।


