Nepal Purbadhar

बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडक अवरुद्ध, यात्रुहरूलाई सास्ती

फाइल तस्विर


काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित देशभरका १२ भन्दा बढी सडकखण्ड अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका-२ स्थित परेवाभिरमा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी रूपमा पूर्ण अवरुद्ध भएको छ ।

त्यस्तै, काभ्रे खण्डको बीपी राजमार्ग पनि अवरुद्ध भएको छ । आज बिहान ४:५५ बजेदेखि रोशी गाउँपालिका-९ को पिन्थली र वडा नम्बर ८ को गिम्दीबेँसीमा खहरेखोलाबाट ढुङ्गामाटोसहितको लेदो बगेर आउँदा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेस्थित कर्णाली राजमार्गमा पनि सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात ठप्प भएको छ । यसैगरी, खोटाङ खण्डको मध्यपहाडी राजमार्गसमेत अवरुद्ध भएको छ ।

ललितपुरमा बागमती खोला करिडोर र कान्तिलोकपथका विभिन्न खण्डमा पनि आवागमन प्रभावित भएको छ । अविरल वर्षाका कारण पानीको बहाव बढेपछि ललितपुर महानगरपालिका-२ बल्खुस्थित सुन्दरीघाट करिडोरको सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यता, गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । पाल्पाको रामपुर नगरपालिका-१ कासिवनमा पनि ढुङ्गासहितको पहिरो खसेर कालीगण्डकी करिडोरको पक्की सडक बन्द भएको छ ।

त्यसैगरी, मुगुको छायाँनाथ रारा नगरपालिका-७ ताल्चास्थित नाग्म-गमगढी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

लगातारको वर्षाका कारण विभिन्न राजमार्ग तथा ग्रामीण सडकमा पहिरो र लेदो खस्ने क्रम जारी रहेकाले यात्रुहरूलाई जोखिमयुक्त सडकमा यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रहरीले आग्रह गरेको छ ।


Read Previous

बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक बेपत्ता, उद्धारको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar