Nepal Purbadhar

जनकपुरलाई १६ रनले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, अपराजित यात्रा कायमै


काठमाडौं। बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अपराजित यात्रा कायम राखेको छ। बिहीबार भएको खेलमा लुम्बिनीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सक्यो।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले सर्वाधिक ३३ रन बनाए। उनले २० बलमा ३ छक्का प्रहार गरे। त्यस्तै आदित्य महतोले २३ बलमा ४ चौकासहित अविजित ३० रन जोडे।

एक समय ६५ रनमै ५ विकेट गुमाएको जनकपुरलाई हर्मीत र आदित्यले सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूले आठौं विकेटका लागि ४३ रनको साझेदारी गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। हर्मीत १८औं ओभरमा आउट भएपछि जनकपुरको जितको सम्भावना कमजोर बनेको थियो।

बंगलादेशी खेलाडी सेफ हसनले २८ तथा ओपनर तृतराज दासले १८ रन बनाए। परभेज हुसेन इमोन १, विशाल सुशीलङ ४, अनिल शाह १, जिमी निशम ९ र अभिषेक तिवारी शून्य रनमा आउट भए।

लुम्बिनीका लागि डार्सी सर्टले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। तिलक भण्डारीले २ तथा रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो।

लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। निरोशन डिकवेलाले २७, आसिफ शेख र दिलिप नाथले समान २१ तथा शामिन हुसेनले १३ रनको योगदान दिए।

त्यस्तै रुबेन ट्रम्पलम्यानले ८ बलमा २ छक्कासहित १५ रन बनाए। ओपनर डार्सी सर्ट भने पहिलो बलमै आउट भएका थिए।

जनकपुरका बलर विशाल सुशीलङ र राहुल यादवले समान २ विकेट लिए। कप्तान हर्मीत सिंह, ललित राजवंशी र अभिषेक तिवारीले १-१ विकेट हात पारे।

यस जितसँगै लुम्बिनीले प्रतियोगितामा खेलेका तीनै खेल जितेको छ। चितवन राइनोजविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको लुम्बिनी ४ खेलबाट ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा कायम छ।

यता ५ खेल खेलेको जनकपुरको यो तेस्रो हार हो। प्लेअफको सम्भावना कायम राख्न जनकपुरले अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब बनेको छ।


Read Previous

प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar