Nepal Purbadhar

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा मतदान

तस्बिरमा नेपाली काँग्रेसको १५औं महाधिवेशन उद्धाटन समारोह।


काठमाडौं। नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंको खुलामञ्चमा भएको थियो। बन्दसत्र असोज १९ र २० गते तथा निर्वाचन प्रक्रिया असोज २१ र २२ गते सञ्चालन हुने कार्यतालिका छ।

बन्दसत्रअघि आज बिहान १० बजे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ। केन्द्रीय कार्यसमितिमा बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनमाथि छलफल भएपछि बन्दसत्र सुरु गरिने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन, महामन्त्रीले विधान संशोधनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। करिब सात हजारभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने बन्दसत्रका लागि खुलामञ्चमा छुट्टाछुट्टै तीन हलको व्यवस्था गरिएको छ।

आजैदेखि निर्वाचन प्रक्रिया सुरु

कांग्रेस केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ।

आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ। ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय तोकिएको छ भने साँझ ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।

असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ। सोही दिन अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमाथि दाबी विरोध र साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ।

असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। त्यसपछि बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। सो दिन दिनभर उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन्।

असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। मतदानका लागि राष्ट्रिय सभा गृह, खुलामञ्च र प्रज्ञा भवन तोकिएका छन्। मतदान सकिएपछि मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।

महाधिवेशनको निर्वाचन प्रक्रिया असोज २१ र २२ गते सञ्चालन गर्ने कार्यतालिका कांग्रेसले यसअघि नै सार्वजनिक गरेको थियो।

कांग्रेसको १५औँ महाधिवेशनमा करिब सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।


Read Previous

दसैँ नजिकिँदै गर्दा पोखरा भित्रिन थाले भेडा-च्याङ्ग्रा, प्रतिगोटा २१ देखि ४० हजार रुपैयाँसम्ममा

Read Next

बागलुङमा सडक खन्ने क्रममा पहिरो खस्दा दुई मजदुरको मृत्यु, एक घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar