Nepal Purbadhar

दसैँ नजिकिँदै गर्दा पोखरा भित्रिन थाले भेडा-च्याङ्ग्रा, प्रतिगोटा २१ देखि ४० हजार रुपैयाँसम्ममा


पोखरा। दसैँ नजिकिँदै गर्दा हिमाली जिल्लाबाट भेडा-च्याङ्ग्रा पोखरा भित्रिन थालेका छन्। मुख्यतः मुस्ताङ, डोल्पा, बझाङ र हुम्लालगायत हिमाली क्षेत्रबाट ल्याइने भेडा-च्याङ्ग्रा पोखराको सिम्पानी जौबारीमा बिक्रीका लागि राखिने गरेको छ।

यस वर्ष पहिलो चरणमा डोल्पाबाट च्याङ्ग्रा लिएर मीनप्रसाद बोहरा पोखरा आइपुगेका छन्। उनले सिम्पानी जौबारीमा प्रतिगोटा २१ हजारदेखि ४० हजार रुपैयाँसम्ममा च्याङ्ग्रा बिक्रीका लागि राखेका छन्।

विगत तीन वर्षदेखि भेडा-च्याङ्ग्रा लिएर पोखरा आउँदै आएका बोहराले यस वर्ष १ सय ओटा भेडा-च्याङ्ग्रा पोखरा ल्याएका छन्।

व्यापारीका अनुसार यस वर्ष हिमाली जिल्ला मुस्ताङ, बझाङ, हुम्ला, डोल्पालगायत क्षेत्रबाट करिब १० हजारभन्दा बढी भेडा-च्याङ्ग्रा पोखरा भित्रिन सक्ने अनुमान छ।

व्यापारीहरूले भेडा-च्याङ्ग्रा हिँडाएर तथा गाडीमा राखेर पोखरा ल्याउने गरेका छन्। तर गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बेनी-जोमसोम-कोरला सडकखण्डमा पहिरो गएर सडक अवरुद्ध भएकाले मुस्ताङबाट अघिल्ला वर्षमा जस्तै यस वर्ष गाडीमा भेडा-च्याङ्ग्रा ल्याउन कठिन भएको छ।

सडकमार्फत ढुवानी गर्न समस्या भएपछि यस वर्ष अधिकांश भेडा-च्याङ्ग्रा हिँडाएर पोखरा ल्याउनुपर्ने अवस्था रहेको व्यापारीले बताएका छन्। त्यसका कारण अघिल्ला वर्षको तुलनामा भेडा-च्याङ्ग्रा पोखरा आइपुग्न केही ढिला हुने भएको छ।

दसैँका बेला पोखरा तथा आसपासका क्षेत्रमा भेडा-च्याङ्ग्राको माग बढ्ने भएकाले हिमाली जिल्लाबाट प्रत्येक वर्ष ठूलो संख्यामा भेडा-च्याङ्ग्रा पोखरा ल्याउने गरिन्छ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी


Read Previous

कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, प्रतियोगिता नसर्ने, कस्तो छ तयारी ?

Read Next

कांग्रेस १५औँ महाधिवेशनः आजदेखि बन्दसत्र, असोज २२ मा मतदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar