Nepal Purbadhar

विश्व बैंकको प्रक्षेपण: रसुवा बाढीको असर, आर्थिक वृद्धि ३.७ प्रतिशतमा खुम्चिने


काठमाडौं। रसुवामा आएको बाढीका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर घटेर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकको पछिल्लो विकाससम्बन्धी अद्यावधिक प्रतिवेदनअनुसार बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले आर्थिक गतिविधि प्रभावित हुने देखिएको हो। यद्यपि पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढेपछि आर्थिक गतिविधिमा सुधार आउने र आर्थिक वर्ष २०८४/८५ मा वृद्धिदर ५.२ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ।

प्रतिवेदनले जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको क्षतिले विद्युत् उत्पादन, उत्पादनमूलक गतिविधि र वस्तु आवागमनमा प्रत्यक्ष असर पार्ने उल्लेख गरेको छ।

त्यस्तै व्यापार, यातायात, पर्यटन तथा वित्तीय गतिविधिमा आएको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने अनुमान गरिएको छ। कृषि क्षेत्रमा भएको क्षतिको समग्र उत्पादनमा प्रभाव तुलनात्मक रूपमा सीमित रहे पनि प्रभावित क्षेत्रका नागरिकको जीविकोपार्जनमा उल्लेखनीय असर पर्न सक्ने विश्व बैंकले जनाएको छ।

विश्व बैंकले नेपाललाई बाढीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणमा मात्र सीमित नभई बहुविपद् जोखिमको पुनर्मूल्याङ्कन गर्न सुझाव दिएको छ। पूर्वाधारको स्थान र डिजाइनमा जोखिमलाई ध्यान दिन तथा यातायात, ऊर्जा र सञ्चारका महत्वपूर्ण सञ्जालमा वैकल्पिक व्यवस्था सुनिश्चित गर्न पनि आग्रह गरिएको छ।

त्यस्तै विपद् पूर्वसूचना प्रणाली सुदृढ गर्न र संकटमा परेका परिवारलाई विपद्पछिको सहायता छिटो उपलब्ध गराउन एकीकृत सामाजिक संरक्षण प्रणाली विकास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

विश्व बैंकका अनुसार रसुवा बाढीबाट भएको क्षतिले नेपाललाई जलवायु परिवर्तन र बदलिँदो विपद् जोखिमअनुकूल पूर्वाधार योजना तथा लगानीमा उत्थानशीलता बढाउने अवसरसमेत दिएको छ।

यसैबीच, विश्व बैंकको दक्षिण एसिया आर्थिक अद्यावधिक प्रतिवेदनले यस वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। सन् २०२७ मा भने दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ।

प्रतिवेदनले दक्षिण एसियाको आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को रणनीतिक प्रयोगलाई समेत नयाँ अवसरका रूपमा औँल्याएको छ। एआईको प्रयोग बढ्दै गए पनि विकसित अर्थतन्त्रको तुलनामा दक्षिण एसिया अझै पछाडि रहेको विश्व बैंकले जनाएको छ।


Read Previous

उच्च शिक्षा सुधारका लागि नीतिगत र संरचनागत काम तीव्रः शिक्षामन्त्री पोखरेल

Read Next

कांग्रेस महाधिवेशन: मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप, को-को ले दिए उमेद्वारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar