Nepal Purbadhar

अर्घ्य अर्पण र ‘जाकुरी’ पूजासँगै जितिया पर्वको समापन (तस्बिर)


चितवन। चितवनको कालिका नगरपालिका-५ स्थित खगेरी खोला किनारमा थारू समुदायका महिलाले विभिन्न धार्मिक अनुष्ठान पूरा गर्दै जितिया पर्वको समापन गरेका छन्।

जितिया पर्वको अन्तिम दिन सोमबार बिहान व्रतालु महिलाले खगेरी खोलामा स्नान गरी सूर्यदेवको पूजा तथा अर्घ्य अर्पण गरेका थिए। त्यसक्रममा अघिल्लो दिन विष्णु भगवानका रूपमा स्थापना गरिएको जितबाहन तथा पिपलको हाँगामा बनाइएको चिल र स्याल (चिलो-सिएरो) को आकृति खोलामा विसर्जन गरिएको थियो।

कालिका-५ की निरु चौधरीले जितिया पर्वको अन्तिम दिन सूर्यदेवको पूजा गरी व्रत समापन गर्ने परम्परा रहेको बताइन्। उनका अनुसार अष्टमीका दिन दिनभर निराहार व्रत बसेर साँझ जितबाहनको पौराणिक कथा सुन्ने र भोलिपल्ट बिहान स्नान तथा पूजाआजा गरी व्रत समापन गर्ने चलन छ।

जितबाहन विसर्जनपछि महिलाले खोलाको चोखो माटोबाट ‘गौरगाङ्ग’ अर्थात् साना बालबालिकाको आकृति बनाएका थिए। सन्तानको सुस्वास्थ्य, दीर्घायु र उन्नतिको कामनासहित मनाइने जितिया पर्वमा माटोबाट बनाइएका यी आकृतिलाई भावी सन्तानको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।

गौरगाङ्गमा सिन्दूर र काजल लगाएपछि अघिल्ला दिनमा उमारेर राखिएको मासको दाल अर्थात् ‘जाकुरी’ र बेलपत्रले ढाकेर पूजाअर्चना गरिएको थियो। जितिया पर्वमा जाकुरीको विशेष धार्मिक महत्त्व रहेको थारू समुदायको विश्वास छ।

पवित्र र निर्जला व्रत बसेका महिलाको जाकुरी राम्रोसँग उम्रिने र देखावटीका लागि मात्र व्रत बस्नेको जाकुरी राम्रोसँग नउम्रिने जनविश्वाससमेत रहेको छ। यसले व्रतालुलाई शुद्ध मन र निष्ठाका साथ व्रत तथा पूजा गर्न प्रेरित गर्ने विश्वास गरिन्छ।

सूर्यदेवको पूजा, जितबाहन विसर्जन र जाकुरी अर्पणपछि व्रतालु महिलाले पुनः खोलामा स्नान गरेका थिए। त्यसपछि अघिल्लो रात जितबाहनको कथा सुन्दा राखिएका पवित्र सामग्री तथा प्रसादलाई मिसाएर भुटी ग्रहण गर्दै महिलाले विधिवत् पारण गरी कठोर व्रतको समापन गरेका छन्।

थारू समुदायका महिलाले सन्तानको सुस्वास्थ्य, दीर्घायु र उन्नतिको कामनासहित तीन दिनसम्म जितिया पर्व मनाउने गर्छन्।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


Read Previous

कांग्रेस बैठकबाट सभापति थापाको राजनीतिक प्रतिवेदन पारित

Read Next

ई-बिडिङ ह्याक प्रकरण: आठ निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा, को को परे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar