
सांकेतिक तस्बिर ।
सुर्खेत, राष्ट्रिय गौरवको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरिने भएको छ।
आयोजनाबाट उत्पादन हुने करिब ४६.८ मेगावाट विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। यसका लागि करिब १.७ किलोमिटर लामो नयाँ प्रसारण लाइन निर्माण गर्ने योजना अघि बढाइएको छ।
प्रस्तावित प्रसारण लाइनमा नौ वटा टावर निर्माण गरिनेछ। तीमध्ये तीन वटा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रमा र बाँकी छ वटा निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्नेछन्। प्रसारण लाइनको क्षेत्राधिकार १८ मिटर रहनेछ।
प्रसारण लाइन निर्माणबाट सुर्खेतको भेरीगंगा नगरपालिका-५ र बर्दिया राष्ट्रिय निकुञ्ज प्रभावित हुने भएकाले आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन तयार पार्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि सरोकारवालासँग आवश्यक सुझावसमेत माग गरिएको छ।
आयोजनाको प्रगति ७० प्रतिशत
भेरी-बबई डाइभर्सन आयोजनाले भेरी नदीको पानी १२ किलोमिटर लामो सुरुङमार्फत बबई नदीमा खसालेर बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

आयोजनाका सूचना अधिकारी हरिबहादुर थापाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति ७० प्रतिशत र वित्तीय प्रगति ५७ प्रतिशत पुगेको छ। बाँकी निर्माण सम्पन्न गर्न अझै करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ।
अपेक्षित गतिमा काम अघि नबढेपछि केही दिनअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले आयोजना स्थलको निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्र बनाउन निर्देशन दिएका थिए।
आयोजनाको १२ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने अहिले सिभिल निर्माण, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल कार्य जारी छन्। यस्तै, प्रसारण लाइन निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको पूर्वस्वीकृति प्रक्रिया पनि सुरु गरिएको आयोजनाले जनाएको छ।
