
काभ्रेपलाञ्चोक। गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त भएको पनौती जलविद्युत् केन्द्र पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको भए पनि विद्युत् उत्पादन पुनः सुरु हुन अझै करिब एक वर्ष लाग्ने भएको छ।
नेपालको तेस्रो जलविद्युत् आयोजना मानिने २.४ मेगावाट क्षमताको पनौती जलविद्युत् केन्द्र विसं २०८१ असोजमा आएको बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि बन्द अवस्थामा रहेको छ।
बाढीका कारण विद्युत्गृहमा पानी पसेर टर्बाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्वपूर्ण विद्युतीय उपकरण डुबानमा परेका थिए। साथै रोशी खोलाले धार परिवर्तन गर्दा आयोजनाको बाँधमा समेत क्षति पुगेको थियो। विपद्का कारण करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
केन्द्रका प्रमुख शिवराज तिमिल्सिनाका अनुसार बाढीले अधिकांश विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याएको छ। बाँधबाट विद्युत्गृहसम्म पानी ल्याउने क्यानलमा पनि क्षति पुगेको थियो।
हालसम्म विद्युत्गृहभित्र थुप्रिएको माटो र लेदो हटाउने काम सम्पन्न भइसकेको छ भने नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ। अहिले सिभिलतर्फको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। विद्युत्गृह वरपरको पहिरो नियन्त्रणका लागि जैविक इन्जिनियरिङलगायतका संरचनात्मक काम पनि अन्तिम चरणमा पुगेका छन्।
निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न गरेमा बढीमा एक वर्षभित्र आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु हुने केन्द्रले जनाएको छ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा २०१७ सालमा निर्माण सुरु भएको पनौती जलविद्युत् आयोजना २७ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको थियो। आयोजनाको औपचारिक उद्घाटन विसं २०२२ मा गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणले यस ऐतिहासिक आयोजनालाई भविष्यमा अध्ययन केन्द्रका रूपमा विकास गर्ने निर्णयसमेत गरिसकेको छ।
