Nepal Purbadhar

टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड ६७ लाख


टीकापुर। टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब तीन करोड ६७ लाख ७७ हजार रुपैयाँको बजेट पारित गरेको छ।

१९औँ नगरसभाले पारित गरेको बजेटअनुसार सङ्घीय सरकारबाट ६५ करोड ५६ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेश सरकारबाट १४ करोड ६६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, आन्तरिक स्रोतबाट २४ करोड ४७ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ।

नगरसभामा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले बजेट प्रस्तुत गरेका थिए।

नगरप्रमुख रामलाल डगौरा थारुले यसअघि नै राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् भने उपप्रमुख खडकबहादुर शाह निलम्बनमा रहेकाले नगरसभा ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा सञ्चालन गरिएको थियो।

सभामा वडा नं. १ का अध्यक्ष मोहन विकले नीति तथा कार्यक्रम, वडा नं. २ का अध्यक्ष दीपक चौधरीले आर्थिकसम्बन्धी प्रस्ताव तथा वडा नं. ४ का अध्यक्ष लालविर चौधरीले विविध प्रस्ताव प्रस्तुत गरेका थिए।

नगरपालिकाको नीति तथा कार्यक्रममा स्थानीय कच्चापदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगलाई नगरपालिकामा बुझाउनुपर्ने राजस्व शुल्क १० वर्षसम्म छुट दिने व्यवस्था गरिएको छ।

यस्तै, सरकारको स्वामित्वमा रहेका घरजग्गा, सरकारी अस्पतालको जग्गा, गुठीको जग्गा, नाफाको उद्देश्य नराखी सञ्चालन भएका शिक्षण संस्था, कम्पनी, समिति, प्राधिकरण, बोर्ड तथा अन्य गैरनाफामूलक सङ्घसंस्थाको घरजग्गामा सम्पत्ति कर नलगाइने नीति लिइएको छ।

धार्मिक संस्था, खानेपानी आयोजना, मसानघाटलगायत सार्वजनिक प्रयोजनका घर तथा घरजग्गालाई पनि सम्पत्ति करबाट छुट दिने व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको छ।


Read Previous

दरवाङ–निस्कोट सडक: छ महिनामा सक्ने सम्झौता तर पाँच वर्षपछि स्तरोन्नति

Read Next

साउन १ देखि काठमाडौँमा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar