Nepal Purbadhar

३३/११ केभीको पुनर्वास सबस्टेशन सञ्चालनमा, १८ हजार ग्राहकलाई भरपर्दो विद्युत आपूर्ति हुने


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३३/११ केभी क्षमताको पुनर्वास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ। ६.८ एमभिए क्षमताको उक्त सबस्टेसन सञ्चालनमा आएपछि करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।

प्राधिकरणका अनुसार सबस्टेसन निर्माणका लागि यसअघि ठेक्का सम्झौता भए पनि सम्बन्धित निर्माण व्यवसायीले सिभिल संरचनाबाहेक आवश्यक विद्युत्–यान्त्रिक कार्य सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो।

लामो समयदेखि न्यून भोल्टेज तथा विद्युत् आपूर्तिसम्बन्धी समस्या झेल्दै आएका स्थानीय उपभोक्ताबाट व्यापक गुनासो आएपछि नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले वैकल्पिक व्यवस्था गरी निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार बेलौरी वितरण केन्द्रले प्राधिकरणका विभिन्न कार्यालयमा रहेका ६.८ एमभिए क्षमताका ट्रान्सफर्मर तथा आवश्यक उपकरण प्रयोग गरी बाँकी निर्माण र जडान कार्य द्रुत गतिमा सम्पन्न गर्दै सबस्टेसन सञ्चालनमा ल्याएको हो।

बेलौरी वितरण केन्द्रका प्रमुख हिक्मतबहादुर बिसीले सबस्टेसन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रका ग्राहकलाई भरपर्दो विद्युत् आपूर्ति गर्न सहज हुने बताए।

नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेको अग्रसरतामा सम्पन्न भएको उक्त आयोजनाबाट बेलौरी वितरण केन्द्रअन्तर्गतका करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ। पाण्डेका अनुसार यसबाट विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार आउनुका साथै भविष्यमा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न पनि सहज हुनेछ।

प्राधिकरणले सबस्टेसन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणाली थप स्थिर, भरपर्दो र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेको छ।


Read Previous

गोरखामा १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजना निर्माण शुरू

Read Next

फाइभ जी प्रविधि भित्र्याउन सबै स्टेकहोल्डर तयार, टेलिकम क्षेत्रको गुणस्तर सुधार गर्न विज्ञको सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar