Nepal Purbadhar

पूर्वाधार विकास मन्त्रालयले १० खर्बको ठेक्का यहि वर्ष खुलाउने


काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षभित्र करिब १० खर्ब रुपैयाँ बराबरका पूर्वाधार आयोजनाको ठेक्का आह्वान गरिने बताएका छन्।

प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि तीन वर्षको कार्यअवधिलाई समेटेर एकैपटक ठेक्का प्रक्रिया अघि बढाउन लागिएको जानकारी दिए।

उनका अनुसार ठेक्का सम्झौता चालु वर्षकै दररेटका आधारमा गरिनेछ भने निर्माण सामग्री तथा श्रम लागतमा हुने मूल्यवृद्धिलाई स्वतः समायोजन गर्ने व्यवस्था लागू गरिनेछ।

मन्त्री लम्सालले चालु वर्षको बजेट तुलनात्मक रूपमा कम देखिनुको मुख्य कारण प्रारम्भिक छ महिनासम्म ठेक्का प्रक्रियामै समय खर्चिनु रहेको बताए। तीन वर्षका लागि एकैपटक ठेक्का लगाउँदा सामान्यतया २० देखि २२ महिना लाग्ने प्रक्रिया ६ देखि ७ महिनामै सम्पन्न हुने उनको दाबी छ।

उनले यस व्यवस्थाबाट आयोजना कार्यान्वयनको समय घट्ने, प्रशासनिक प्रक्रिया छिटो हुने तथा निर्माण कार्यका लागि थप समय उपलब्ध हुने विश्वास व्यक्त गरे।


Read Previous

मिटर र ट्रान्सफर्मर अभाव नहुने, पर्याप्त मौज्दात रहेको प्राधिकरणको दाबी

Read Next

ई–पासपोर्ट खरिद प्रकरण : पूर्वपरराष्ट्रमन्त्री आरजु राणालाई अख्तियारको बयान बोलायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar