Nepal Purbadhar

भारतमा विद्युतीय अटो रिक्साको बजार विस्तार हुँदै, हरेक ९० सेकेन्डमा एउटा उत्पादन


काठमाडौं । भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । भारतीय कारखानामा हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन हुन थालेसँगै भारत विश्वकै ठूलो विद्युतीय तीनपाङ्ग्रे सवारी बजार बनेको छ ।

गत सेप्टेम्बरमा भारतमा बिक्री भएका नयाँ तीनपाङ्ग्रे सवारी साधनमध्ये आधाभन्दा बढी विद्युतीय थिए । सोही अवधिमा बिक्री भएका कारमध्ये ८.५ प्रतिशत र दुईपाङ्ग्रे सवारी साधनमध्ये ११.६ प्रतिशत मात्रै विद्युतीय थिए । यसले भारतमा विद्युतीय अटो रिक्साको बजार विस्तार तीव्र रहेको देखाउँछ ।

महिन्द्रा लास्ट माइल मोबिलिटीले बढ्दो माग पूरा गर्न उत्पादन विस्तार गरिरहेको छ । कम्पनीका प्रमुख कार्यकारी सुमन मिश्राका अनुसार पछिल्लो पाँच वर्षमा कम्पनीको विद्युतीय सवारीको बजार छ गुणाले विस्तार भएको छ । सरकारी अनुदान, सवारीको गुणस्तरमा सुधार र सञ्चालन खर्चमा कमीले पछिल्ला दुई वर्षमा यसको प्रयोग थप बढेको हो ।

विद्युतीय अटो रिक्सा प्रयोगको मुख्य आकर्षण इन्धन खर्चमा हुने बचत बनेको छ । हैदराबादका चालक अफरोज आलमले पेट्रोलबाट चल्ने अटो छाडेर विद्युतीय सवारी अपनाएपछि दैनिक खर्चमा उल्लेख्य बचत भएको बताएका छन् । यसले सवारी खरिदका लागि लिएको ऋण तिर्नसमेत सहज भएको उनको अनुभव छ ।

भारतीय थिङ्क ट्याङ्क सीईईडब्ल्यूको सन् २०२५ को अनुमानअनुसार पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे सवारीको प्रतिकिलोमिटर सञ्चालन खर्च विद्युतीय सवारीको तुलनामा दोब्बरभन्दा बढी छ । ब्याट्रीको मूल्य घट्नु र इन्धनको मूल्य बढ्नु पनि विद्युतीय सवारीको प्रयोग बढ्नुका प्रमुख कारण हुन् ।

भारतका उत्तरी शहरहरूमा रेलवे स्टेशन र व्यस्त बजार क्षेत्रमा विद्युतीय अटो रिक्सा सामान्य दृश्य बन्न थालेका छन् । एक दशकअघि स्थानीय कार्यशालामा पुराना साइकल रिक्सामा ब्याट्री जडान गरेर बनाइने ई–रिक्सा अहिले ठूला कम्पनीको प्रवेशसँगै व्यवस्थित उद्योगका रूपमा विस्तार भएको छ ।

यद्यपि, चार्जिङ पूर्वाधार र पार्किङको अभाव यसको विस्तारमा चुनौती बनेको छ । विशेषगरी मुम्बईजस्ता शहरमा चार्जिङका लागि पर्याप्त पार्किङस्थल नहुँदा समस्या देखिएको छ । विद्युतीय मोटरमा प्रयोग हुने दुर्लभ खनिजका चुम्बकको आपूर्तिमा चीनले लगाएको प्रतिबन्धले पनि भारतीय उत्पादक प्रभावित भएका छन् ।

भारतले ब्याट्री सेललगायत सामग्रीको स्वदेशी उत्पादन बढाउने प्रयास गरिरहेको भए पनि यसको ठूलो हिस्सा अझै चीन र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ । विश्लेषकहरूका अनुसार विद्युतीय ट्याक्सी र व्यावसायिक सवारी साधनको विस्तारले भारतको विद्युतीय यातायात बजारमा थप सम्भावना सिर्जना गर्न सक्छ ।


Read Previous

घोप्टेभिरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar