
बागलुङ। कालीगण्डकी नदीमा आएको बाढीले थातथलो बगाएपछि पर्वतको फोर्सेवासीलाई यस वर्ष दसैँ र तिहारले छोएको छैन। गत असोज ११ गते आएको बाढीले बस्ती नै क्षतिग्रस्त बनाएपछि स्थानीयको जीवन अझै सामान्य बन्न सकेको छैन।
पर्वतको जलजला गाउँपालिका-८ स्थित फोर्से बजारका ७५ ओटा घर तथा टहरा बाढीले बगाएको थियो। बाढीबाट करिब ३०० जना प्रभावित भएका थिए। घरबारविहीन बनेका स्थानीयलाई सुरूमा अस्थायी टेन्टमा राखिएको थियो। तर, चिसो बढ्दै गएपछि उनीहरू आफन्तकहाँ र भाडाको कोठामा सर्न थालेका छन्।

बाढीले सामान्य क्षति पुर्याएका केही घर मर्मत गरेर स्थानीय त्यहीँ बस्न थालेका छन्। तर, उच्च जोखिममा रहेका २७ ओटा घरका बासिन्दासमेत घर मर्मत गरेर बस्न थाले पनि उनीहरूमा बाढीको त्रास कायमै छ। कतिबेला फेरि बाढी आएर बगाउने हो भन्ने चिन्ताले राति राम्रोसँग सुत्न नसक्ने उनीहरू बताउँछन्।
बाढीले घर बगाएपछि आफन्तकहाँ आश्रय लिइरहेका टीकाराम क्षेत्रीले घरसँगै भाँडाकुँडा, लत्ताकपडालगायत सबै सामान बगाएको बताए। बाढीपछि तत्कालै दसैँ र तिहार आए पनि आर्थिक अभावका कारण बालबालिकालाई मीठोमसिनो खुवाउन र नयाँ कपडा किनिदिन नसकेको उनले दुःखेसो गरे।

‘घरसँगै हाम्रो सबै सम्पत्ति बाढीले बगायो। अहिले आफन्तको घरमा सिंगो परिवार नै बसेका छौँ,’ क्षेत्रीले भने, ‘दसैँ आयो, गयो। फेरि तिहार आयो। साना छोराछोरी छन्। उनीहरू राम्रो लगाउने, मीठो खाने भन्छन्। पैसा छैन, कहाँबाट ल्याएर मीठो खुवाउने र नयाँ लुगा किनिदिने? निकै पीडा भयो।’
अर्की बाढीपीडित चन्द्राकुमारी फगामी मगरले टेन्टमा बस्दा चिसोका कारण बिरामी भएपछि बजारकै एउटा घरमा कोठा भाडामा लिएको बताइन्। घरको आधाभन्दा बढी भाग बाढीले बगाएकाले बस्नै नमिल्ने अवस्थामा रहेको उनले सुनाइन्। विभिन्न संघसंस्थाले दिएको खाद्यान्नबाट गुजारा गरिरहेको र घरबाट कपडासमेत निकाल्न नपाएको उनको भनाइ छ।

‘अब कहाँ बस्ने? कहाँ जाने? भएको यही घर थियो, त्यही पनि बाढीले बगाइदियो। हाम्रो त एक टुक्रा जमिन पनि छैन,’ उनले भनिन्।
सरकारले बस्नका लागि सानो घर बनाइदिए आफूहरूलाई अरू केही नचाहिने उनले बताइन्। ‘सरकारले बस्नलाई सानो-सानो घर बनाइदिए हामीलाई केही चाहिने थिएन। बुढेसकाल लाग्यो, काम गर्न पनि सकिँदैन। यस्तो बेला बाढीले बेघरबार बनायो,’ उनले भनिन्।

बाढीपीडित रामप्रसाद सुवेदीले अहिलेसम्म सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरे। व्यक्ति र विभिन्न संस्थाबाट राहत पाए पनि दीर्घकालीन पुनःस्थापनाका लागि सरकारले पहल नगरेको उनको भनाइ छ। सयौँ स्थानीयको बिचल्ली हुँदा पनि राज्यले बेवास्ता गरेको भन्दै उनले पीडितको दीर्घकालीन व्यवस्थापन गर्न माग गरे।
बाढीले फोर्से बजारको पुरानो बस्तीको आधाभन्दा बढी क्षेत्र बगाएको सुवेदीले बताए। चाडपर्वको समयमा समेत बजारमा कुनै रौनक छैन। घरबार गुमाएका स्थानीय अहिले बसोबासको व्यवस्था र सरकारी सहयोगको पर्खाइमा छन्।

तस्बिर : डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

