Nepal Purbadhar

तरकारी खेती छोडेर सयपत्रीमा भविष्य खोज्दै कमला, वार्षिक ४ लाख आम्दानी- तस्बिरहरू


बागलुङ । बजारमा तरकारी बिक्री गर्न भोग्नुपरेको सास्तीबाट आजित भएपछि बागलुङकी कमला थापाले खेतीको शैली नै बदलिन्। तीन वर्षअघिसम्म गोलभेडा, बन्दा र काउली फलाउने उनले अहिले सयपत्री फूल खेतीबाट वार्षिक करिब ४ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन्।

बागलुङ नगरपालिका-१ रामरेखा मैनडाँडाकी कमलाले २०८१ सालमा तरकारी खेती छाडेर सयपत्री फूल लगाउन सुरू गरेकी हुन्। सुरूमा ५ हजार रुपैयाँको बिउ किनेर एउटा टनेलबाट फूल खेती थालेकी उनको व्यवसाय अहिले विस्तार भएर ४ ओटा टनेलमा पुगेको छ। खेतीमा उनको लगानीसमेत बढेर करिब ३ लाख रुपैयाँ पुगेको छ।

तरकारी उत्पादन गर्दा बजार खोज्दै ढोकोमा बोकेर पुग्नुपर्ने, ग्राहकले भनेअनुसारको मूल्यमा बिक्री गर्नुपर्ने र मल तथा विषादीमा धेरै खर्च हुने समस्या थियो। फूल खेतीमा तुलनात्मक रूपमा कम मिहिनेत लाग्ने र माग पनि राम्रो भएकाले यसतर्फ आकर्षित भएको कमला बताउँछिन्।

उनले मौसमी र बेमौसमी दुवै समयमा फूल उत्पादन गर्दै आएकी छन्। बेमौसममा सयपत्रीको मूल्य प्रतिकिलो ४ सयदेखि ६ सय रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ। तिहारमा बजारमा फूलको आपूर्ति बढ्ने भएकाले मूल्य भने तुलनात्मक रूपमा कम हुन्छ।

बागलुङ कालिका मन्दिर नजिकै फूल फार्म रहेकाले मन्दिर दर्शन गर्न आउने भक्तजन पनि उनका ग्राहक हुन्। यस वर्ष उनले २० हजार रुपैयाँको बिउ लगाएकी छन्। एउटै टनेलमा एउटै प्रकारका फूल लगाउँदा लामो समयसम्म राम्रो उत्पादन नहुने अनुभवका आधारमा उनले टनेलअनुसार फरक-फरक खेती गर्दै आएकी छन्।

फूल खेतीबाट हुने आम्दानीले ४ जनाको परिवारको जीविकोपार्जनमा सहज भएको छ। खेती विस्तार गर्ने इच्छा भए पनि जग्गा अभावले सीमित क्षेत्रमा मात्रै उत्पादन गर्नुपरेको उनले बताइन्।

सरकारले अनुदान, तालिम र प्राविधिक सहयोग उपलब्ध गराए खेती विस्तार गरी थप व्यक्तिलाई रोजगारी दिन सकिने उनको अपेक्षा छ।

तस्बिर स्रोत: डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी


Read Previous

लगानी र पूर्वाधारका कानुनी जटिलता हटाउन ५९ ओटा ऐन संशोधनको तयारी, निजी क्षेत्रसँग छलफल

Read Next

प्रेस काउन्सिलसम्बन्धी अध्यादेश जारी गर्नुअघि सरोकारवालासँग छलफल गर्न महासङ्घको आग्रह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar