Nepal Purbadhar

मोरङको केरौनमा १३२ केभी सबस्टेसन सञ्चालन


काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका-२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले आइतबार कात्तिक १५ गते सबस्टेसन चार्ज गरी सञ्चालनमा ल्याएको हो।

मोरङका उत्तरी तथा दक्षिणपूर्वी क्षेत्रमा विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउने उद्देश्यले सबस्टेसन निर्माण गरिएको हो।

पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहवी-दुम्किबास खण्डमा पर्ने दुहवी-दमक लाइनमा लुप इन तथा लुप आउट प्रणालीमार्फत केरौन सबस्टेसन जोडेर चार्ज गरिएको हो।

सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीए क्षमताका २ ओटा र ३३/११ केभी, २२.५ एमभीए क्षमताको एउटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। यससँगै सबस्टेसनको कुल क्षमता १४८.५ एमभीए पुगेको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सबस्टेसन सञ्चालनमा आएसँगै मोरङ तथा आसपासका क्षेत्रमा बढ्दो विद्युत् माग व्यवस्थापन गर्न र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताए। यसबाट उपभोक्तालाई गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउनसमेत महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

सबस्टेसनबाट रङ्गेली र विराटचोकतर्फ विद्युत् आपूर्तिका लागि ३३ केभीका २/२ ओटा लाइन निर्माण गरिएको छ। ती लाइनलाई पनि तिहारअघि चार्ज गरी सम्बन्धित क्षेत्रमा विद्युत् आपूर्ति सुरू गर्ने प्राधिकरणको योजना छ।

त्यसैगरी, स्थानीय क्षेत्रमा विद्युत् वितरणका लागि ११ केभीका ५ ओटा फिडर लाइनको व्यवस्था गरिएको छ। ती लाइनसमेत छिट्टै चार्ज गरी सञ्चालनमा ल्याइनेछ।

केरौन सबस्टेसनबाट विद्युत् आपूर्ति सुरू भएपछि कानेपोखरी, रङ्गेली, विराटचोक, लेटाङलगायत आसपासका क्षेत्रमा विद्युत् सेवा थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

विशेषगरी लामो दूरीका ३३ केभी वितरण लाइनबाट विद्युत् आपूर्ति भइरहेका क्षेत्रमा अब लाइनको दूरी घट्नेछ। यसले न्यून भोल्टेज, पटक-पटक विद्युत् अवरुद्ध हुने (ट्रिपिङ) लगायतका समस्या कम गर्नुका साथै विद्युत् आपूर्तिलाई नियमित र सुरक्षित बनाउन सहयोग पुग्नेछ। प्राविधिक चुहावट न्यूनीकरणमा समेत सबस्टेसनले योगदान गर्ने अपेक्षा गरिएको छ।

केरौन सबस्टेसन निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो। करिब १ अर्ब रुपैयाँ अनुमानित लागतमा निर्माण गरिएको आयोजना नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा सम्पन्न भएको हो।


Read Previous

स्थानीयको श्रमदानले खुल्यो पाउद्वार-खोप्रा पदमार्ग, पर्यटकलाई सहज

Read Next

रेल चालकका लागि अवसर: नेपाल रेलवे बोर्डले माग्यो लोको पाइलटको आवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar