Nepal Purbadhar

‘सरकार ढल्दैन, सरकार ढल्छ भन्नेहरू बेहोस भएर ढल्छन्’, हल्ला गर्न जरूरी छैन- लामिछाने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार ढल्ने चर्चा निराधार भएको बताएका छन्। काठमाडौंको खुलामञ्चमा आइतबार आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकार ढल्छ भनेर टिप्पणी गर्नेहरू नै सरकार नढलेको देखेर बेहोस भएर ढल्ने बताएका हुन।

लामिछानेले पटकपटक सरकार ढल्ने चर्चा हुने गरेको भन्दै ‘कहिलेकाहीँ सुनिन्छ – सरकार कमजोर भयो, उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ। दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ, नेपाल संवत्मा ढल्छ। ढल्छ कि ढल्छ भनेको बडो सुन्छु,’ उनले भने।

त्यस्तो टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै उनले भने, ‘ढल्न त ढल्छ तर यो पटक-पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर चाहिँ ढल्छ। सरकार ढल्दैन। बिल्कुलै ढल्दैन।’

लामिछानेले इतिहास रच्ने उद्देश्यसहित सरकार गठन गरिएको दाबी गर्दै लोकतन्त्रप्रति आफूहरूको प्रतिबद्धता रहेको बताए। लोकतन्त्रमाथि तलमाथि गर्न खोजिए जनताले त्यसको रक्षा गर्ने उनको भनाइ थियो।

लामिछानेले कांग्रेसको आन्तरिक विषयमा पनि टिप्पणी गरेका छन्। कांग्रेसले पार्टीमा निष्ठालाई पूँजी मान्नेहरूलाई महत्व दिएको भए आफू पनि कांग्रेस बन्न सक्ने बताए।

उनले दूरदराजका पछाडि परेका क्षेत्रका व्यक्तिलाई समानुपातिकको नाममा मात्र सीमित नगरी अवसर र टिकट वितरणमा समान व्यवहार गरेको भए आफू पनि कांग्रेस बन्न सक्ने उनको भनाई थियो ।

कांग्रेसले ५० वर्षको सभापति पाउँदा गौरव महसुस गरेको उल्लेख गर्दै उनले गगन थापालाई ४० वर्षमै सभापति बन्ने अवसर र प्रेरणा दिएको र त्यसो नभएको बताए। यदी त्यस्तो भएको भए आफू पनि कांग्रेस बनिसक्ने बताए।

‘गगनलाई ४० वर्षमै सभापति बन्ने प्रेरणा दिँदा लिएको भए म पनि कांग्रेस बन्थेँ होला,’ उनले भने।

कांग्रेसले आफ्नो ‘लहलहाउँदो रुख’ छाडेर अन्तै भोट हाल्न उर्दी जारी नगरेको भए पनि आफू कांग्रेस बन्न सक्ने लामिछानेको भनाइ थियो। उनले राजनीतिक दलहरूबीच सहकार्य गर्दै मुलुकको जिम्मेवारी अघि बढाउनुपर्ने बताए।


Read Previous

प्रचण्डले गगन र रविलाई भने- ‘क्रमभंग गर्दै जानुस्, अनि बन्छ नेपाल’

Read Next

‘खुल्लामञ्च खुल्दा संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ’-गगन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar