
काठमाडौं। संघीय राजधानीको अत्यन्त व्यस्त कोटेश्वर–बालकुमारी सडकखण्डमा पैदलयात्रीका लागि सुरक्षित र निरन्तर फुटपाथ नहुँदा दैनिक हजारौं सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। फुटपाथ निर्माण गरिएका केही सीमित स्थानबाहेक अधिकांश क्षेत्रमा पैदलयात्रीले सडकको किनार हुँदै सवारीसाधनसँगै हिँड्नुपर्ने अवस्था रहेको छ।

यस सडकखण्डमा नालीमाथि केही दूरीसम्म व्यवस्थित फुटपाथ निर्माण गरिएको भए पनि त्यसपछि फुटपाथ अचानक अन्त्य हुने र त्यसको सट्टा फलामका प्लेट राखिएको देखिन्छ। तर ती प्लेटहरू धेरै स्थानमा भासिएका, बांगिएका तथा कतिपय ठाउँमा फलाम नै निस्किएको अवस्थामा छन्। सम्भावित दुर्घटना रोक्न केही स्थानमा अस्थायी रूपमा बाँस टेकेर काम चलाइएको भए पनि त्यसले जोखिम पूर्ण रूपमा हटाउन सकेको छैन।

स्थानीयका अनुसार भासिएका फलामका प्लेटका कारण कतिपय पैदलयात्रीको खुट्टा समेत फसेको छ। विशेषगरी विद्यालय जाने बालबालिका, ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति तथा रातिको समयमा आवतजावत गर्ने सर्वसाधारणका लागि यो सडकखण्ड अझ जोखिमपूर्ण बनेको छ।
फलामका प्लेट कुनै पनि बेला थप भासिन सक्ने डरका कारण धेरै पैदलयात्री फुटपाथ प्रयोग गर्नुभन्दा सडकमै हिँड्न बाध्य भएका छन्। यसले तीव्र गतिमा गुड्ने सवारीसाधनसँग ठोक्किने वा दुर्घटनामा पर्ने जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ।

कोटेश्वर–बालकुमारी सडक काठमाडौं उपत्यकाको सबैभन्दा व्यस्त सडकमध्ये एक हो। यस सडकबाट दैनिक हजारौं सवारीसाधन सञ्चालन हुने र ठूलो संख्यामा सर्वसाधारण आवतजावत गर्ने भए पनि पैदलयात्रीको सुरक्षालाई प्राथमिकता दिइएको नदेखिएको स्थानीयको भनाइ छ।
स्थानीयवासीले भासिएका फलामका प्लेट तत्काल हटाई सुरक्षित र निरन्तर फुटपाथ निर्माण गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार राजधानीको मुख्य सडकमै पैदलयात्री आधारभूत सुरक्षाबाट वञ्चित हुनु दुःखद् अवस्था हो।

पैदलयात्रीको सुरक्षासँग प्रत्यक्ष जोडिएको यो समस्याप्रति सम्बन्धित निकायको समयमै ध्यान नपुग्दा सामान्य लापरवाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै स्थानीयले तत्काल मर्मत तथा स्थायी समाधानको माग गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
