
वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु चार अर्ब ४२ करोड ३४ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ। नगरसभाको २०औँ अधिवेशनमा नगर कार्यपालिका सदस्य जगत साहले कार्यवाहक प्रमुख इम्तियाज आलमका तर्फबाट बजेट प्रस्तुत गरेका हुन्।
कुल बजेटमध्ये रु एक अर्ब ९६ करोड ९९ लाख ८४ हजार (४४.६ प्रतिशत) पुँजीगत खर्चका लागि, रु पाँच करोड (१.१ प्रतिशत) वित्तीय व्यवस्थापनका लागि तथा रु दुई अर्ब ४० करोड ३४ लाख ६९ हजार (५४.३ प्रतिशत) चालु खर्चका लागि विनियोजन गरिएको छ।
बजेटका प्रमुख स्रोतमा सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९८ करोड २९ लाख, आन्तरिक राजस्वबाट रु एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट रु २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु पाँच करोड तथा प्रदेश राजस्व बाँडफाँटबाट रु एक करोड ६७ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको छ। साथै घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु ४५ करोड, गत वर्षको मौज्दातबाट रु चार करोड ६९ लाख ४४ हजार र नगर विकास कोषबाट रु १५ करोड जुटाइने उल्लेख गरिएको छ।
महानगरले आगामी वर्षको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, आर्थिक तथा सामाजिक विकास र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ।
