Nepal Purbadhar

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ५६ करोड,पूर्वाधार विकास प्राथमिकतामा

विराटनगर महानगरपालिकाको कार्यालय। फाइल तस्बीर।


विराटनगर। विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रु ३ अर्ब ५६ करोड ४७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। महानगरको १८औँ नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त तथा पुँजीगत अनुदानमार्फत रु १ अर्ब ७ करोड २८ लाख प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट समानीकरण तथा सशर्त अनुदान गरी रु १४ करोड २६ लाख ७४ हजार प्राप्त हुने अपेक्षा गरिएको छ।

राजस्व बाँडफाँटतर्फ सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट रु ९२ करोड ५६ लाख १८ हजार आम्दानी हुने अनुमान गरिएको छ। महानगरले आन्तरिक आयबाट रु १ अर्ब २७ करोड २० लाख, विभिन्न संस्थाको अनुदानबाट रु १ करोड १६ लाख तथा बैंक मौज्दातबाट रु १४ करोड प्राप्त गर्ने लक्ष्य राखेको छ।

व्ययतर्फ पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। यस शीर्षकमा रु १ अर्ब ६० करोड ३९ लाख ३२ हजार विनियोजन गरिएको छ। नगरस्तरीय योजना, वडास्तरीय कार्यक्रम, बहुवर्षीय आयोजना, सडक तथा विद्युत् पूर्वाधारमा बजेट खर्च गरिनेछ।

सामाजिक विकासतर्फ रु २६ करोड ५० लाख ५९ हजार विनियोजन गरिएको छ। यसअन्तर्गत शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक हिंसा न्यूनीकरण, खानेपानी तथा सामुदायिक विकास कार्यक्रम समेटिएका छन्।

आर्थिक विकासतर्फ कृषि, पशुपालन, सहकारी, उद्यमशीलता, रोजगार र पर्यटन प्रवर्द्धनका लागि रु ३ करोड २६ लाख ३७ हजार छुट्याइएको छ। सुशासन तथा संस्थागत विकासमा रु २ करोड ९३ लाख १० हजार र वन, वातावरण तथा विपद् व्यवस्थापनमा रु २ करोड ५९ लाख ६० हजार बजेट विनियोजन गरिएको छ।

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि रु ७६ करोड २८ लाख ७८ हजार विनियोजन गरिएको छ। महानगरले प्रस्तुत बजेटमार्फत पूर्वाधार विस्तार, सेवा प्रवाह सुधार र सामाजिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको जनाएको छ।

नगरसभामा विभिन्न विधेयक, समितिका प्रतिवेदन तथा अघिल्ला बैठकका निर्णयहरू अनुमोदनका लागि छलफल हुने महानगरपालिकाले जनाएको छ।


Read Previous

नेपाल आउने कुल पर्यटक मध्ये संरक्षित क्षेत्रमा घुम्न आउने ६० प्रतिशतभन्दा बढी

Read Next

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुटबन्दीको चर्चा समाप्त भयो : असिम साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar